
फ्रान्कफर्ट। जर्मनीको अटो उद्योगमा देखिएको मन्दी, आर्थिक सुस्तता र चीनबाट बढ्दो प्रतिस्पर्धाले युवा इन्जिनियरको रोजगारीमा गम्भीर असर पार्न थालेको छ। कुनै समय सहजै जागिर पाउने अपेक्षा गरिएका दक्ष इन्जिनियरसमेत लामो समयसम्म रोजगारीविहीन बस्न बाध्य भएका छन्।
स्वायत्त तथा बौद्धिक सवारी प्रणालीमा प्रयोग हुने ‘कम्प्युटर भिजन’ प्रविधिमा विशेषज्ञता हासिल गरेका ३० वर्षीय सफ्टवेयर इन्जिनियर म्याक्स पेलले एक वर्षको अवधिमा करिब ५० वटा जागिरका लागि आवेदन दिइसकेका छन्। ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभव हुँदाहुँदै पनि उनले अहिलेसम्म एउटा मात्र अन्तर्वार्ताको अवसर पाएका छ्।
“अधिकांश आवेदन सीधै अस्वीकृत हुन्छन्,” पेलले भने। उनका अनुसार आफ्ना धेरै साथीहरूको अवस्था पनि उस्तै छ, जसमा कतिपयले ६० भन्दा बढी आवेदन पठाइसकेका छन्।
‘स्वर्ण युग’ अब फर्किने सम्भावना न्यून
विश्वस्तरीय प्रविधि र नवीन डिजाइनका लागि परिचित जर्मनीको अटो उद्योग पछिल्ला केही वर्षयता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्यातमा आधारित यस उद्योगलाई विशेषगरी चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनीहरूको तीव्र प्रतिस्पर्धाले दबाबमा पारेको छ।
बीवाइडी र एक्सपेङजस्ता चिनियाँ कम्पनीले विश्वकै ठूलो अटो बजार चीनमा जर्मन उत्पादकको बजार हिस्सा घटाउँदै लगेपछि जर्मन कम्पनीहरू पुनःसंरचना र लागत कटौतीमा केन्द्रित भएका छन्।
कोलोनस्थित आइडब्ल्यू आर्थिक संस्थानका यातायात अर्थशास्त्री थोमस पल्सका अनुसार जर्मनीको वार्षिक सवारी उत्पादन पछिल्लो दशकमा उल्लेखनीय रूपमा घटेको छ।
उनका अनुसार एक दशकअघि वार्षिक करिब ६० लाख सवारी उत्पादन हुने गरेकामा अहिले उत्पादन ४० देखि ४२ लाखको हाराहारीमा सीमित भएको छ। अन्य युरोपेली मुलुकको तुलनामा अवस्था अझै राम्रो भए पनि जर्मनीको अटो उद्योगको पुरानो ‘स्वर्ण युग’ फर्किने सम्भावना न्यून रहेको उनको भनाइ छ।
यसैबीच, फक्सवागनले एक लाखसम्म रोजगारी कटौती गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएपछि जर्मनीका विभिन्न कारखानामा कामदारहरूले विरोध प्रदर्शन गरेका छन्।
सङ्घीय रोजगार एजेन्सी (एफइए)का अनुसार सन् २०२० देखि २०२५ सम्म जर्मनीमा समग्र रोजगारीमा सामान्य वृद्धि भए पनि अटोमोटिभ क्षेत्रमा रोजगारी भने आठ प्रतिशतले घटेको छ।
चीनको प्रतिस्पर्धाले बढायो दबाब
जर्मन उद्योग अहिले चीनबाट आएको नयाँ खालको प्रतिस्पर्धाको सामना गरिरहेको छ। कम लागतका वस्तु उत्पादनबाट अघि बढेर उच्च प्रविधियुक्त उत्पादनमा केन्द्रित चिनियाँ कम्पनीले जर्मनीका परम्परागत निर्यात बजारमा चुनौती थपेका छन्।
गत वर्ष जर्मनीको कुल निर्यात १.५६ ट्रिलियन युरो पुगे पनि यो सन् २०२२ को उच्च स्तरभन्दा करिब दुई प्रतिशत कम हो। चीनतर्फको निर्यात भने सोही अवधिमा करिब २५ प्रतिशत घटेर ८१.३ अर्ब युरोमा सीमित भएको सरकारी तथ्यांकले देखाएको छ।
नयाँ पुस्ताकालागि कठिन
टायर तथा औद्योगिक उपकरण निर्माता कन्टिनेन्टलमा तालिम पूरा गरेका पेलका अनुसार कम्पनीको पुनःसंरचनाले नयाँ जनशक्तिका लागि अवसर झन् सीमित बनाएको छ।
“मैले काम सुरु गर्दादेखि नै कम्पनीका विभिन्न विभाग पुनःसंरचना भइरहेका थिए,” उनले भने। “अनुभवी कर्मचारी नै बाहिरिँदै गरेको अवस्थामा नयाँ व्यक्तिलाई अवसर मिल्ने सम्भावना निकै कम देखिन्थ्यो।”
जर्मनीको प्रतिष्ठित आरडब्ल्यूटीएच आचेन विश्वविद्यालयकी करियर सेवा प्रमुख आन्जा रोबर्टका अनुसार उत्कृष्ट विद्यार्थीसमेत अहिले महिनौँसम्म जागिरको प्रतीक्षा गर्न बाध्य छन्।
“धेरै विद्यार्थीले ३०-४० वटा आवेदन दिए पनि कुनै प्रतिक्रिया नआएको गुनासो गर्छन्,” उनले भनिन्। “अब बीएमडब्ल्यूजस्ता ठूला कम्पनीमा आवेदन दिँदैमा जागिर सुनिश्चित हुने अवस्था छैन।”
एफइएको तथ्यांकअनुसार गत वर्ष योग्य इन्जिनियरको बेरोजगारी दर ३.८ प्रतिशत पुगेको छ, जुन सन् २०२२ को तुलनामा करिब ५० प्रतिशतले बढी हो।
यद्यपि सबैका लागि अवस्था निराशाजनक भने छैन। इलेक्ट्रिकल इन्जिनियर लुका लिन्सेनले महिनौँको प्रयासपछि ह्याम्बर्गमा सफ्टवेयर परामर्शदाताका रूपमा नयाँ जागिर पाउनुभएको छ।
उनका अनुसार पहिले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई पढाइ सकिनुअघि नै जागिर सुनिश्चित हुने विश्वास दिलाइन्थ्यो, तर अहिले अवस्था बदलिएको छ। उनले इन्जिनियरिङ रोज्ने विद्यार्थीलाई राम्रो तलब वा जागिरको सुनिश्चितताभन्दा पनि प्रविधिप्रतिको रुचि र लगावका आधारमा यो क्षेत्र रोज्न सुझाव दिएकी छन्।
