Nepal Purbadhar

प्रसारण पूर्वाधार विकासमा ग्रीड कम्पनी र इप्पानको सहकार्य, निजी–सरकारी साझेदारी नयाँ चरणमा


काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत् प्रसारण पूर्वाधारको विकास, नीतिगत सुधार तथा प्राविधिक अध्ययन–अनुसन्धानमा सहकार्य गर्ने सहमति गरेका छन् ।

सोमबार ग्रीड कम्पनीको बुद्धनगरस्थित कार्यालयमा यस्तो सहमति भएको हो । दुवै संस्थाका पदाधिकारीहरूले नेपालको प्रसारण प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर श्रेष्ठले प्रसारण पूर्वाधार विस्तारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने समय आएको बताए । कम्पनीको स्थायी आम्दानीको स्रोत सुनिश्चित गर्न प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारणलगायतका नीतिगत विषयमा सरकारसँग समन्वय भइरहेको जानकारी उनले दिए ।

नदी कोरिडोरमा प्रसारण लाइन निर्माण गर्दा एकीकृत अवधारणा अपनाउनुपर्नेमा दुवै पक्ष सहमत छन् । एउटै क्षेत्रमा छुट्टाछुट्टै संरचना निर्माण गर्नुको सट्टा साझा पूर्वाधार विकास गर्दा लागत र समय दुवै बचत हुने बुझाइ छ ।

कम्पनीका प्रवक्ता नगेन्द्रप्रसाद चौधरीले ग्रीड कम्पनीले गरिरहेका कामको जानकारी दिएका थिए । कम्पनीले नेपालको प्रसारण प्रणालीको मास्टर प्लान बनाएर काम गरिरहेको छ । ठूला ठूला प्रसारणलाइनहरु निर्माण थालेको छ । ग्रीड कम्पनीले नेपालमा भरपर्दो प्रसारण प्रणालीको विकासका लागि काम गरिरहेको छ । सरकारले सबै प्रसारण प्रणालीको विकासको जिम्मा दिने उदेश्यका साथ कम्पनी स्थापना गरेको हो ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले प्रसारण पूर्वाधार विकासमा आरपिजिसिएलसँग सहकार्य सुरु हुनु निजी ऊर्जा उत्पादकका लागि सकारात्मक अवसर भएको बताए । उनले निजी क्षेत्रले प्रसारण प्रणालीका चुनौती समाधानका लागि विगतदेखि सरकारसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा आरपिजिसिएलसँगको सहकार्यलाई अझ सुदृढ बनाउने आवश्यकता औँल्याए ।

भविष्यमा प्रसारण प्रणालीको व्यवस्थापन क्रमशः आरपिजिसिएलमार्फत सञ्चालन गर्ने र उत्पादन तथा प्रसारण व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भार प्रेषण केन्द्र (एलडीसी) को व्यवस्थापनसमेत सोही संरचनामा आबद्ध गर्न सकिने विषयमा उनले सुझाव दिए।


Read Previous

विश्वकप फुटबल सट्टेबाजीमा ८५ जना पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar