
काठमाडौं । काठमाडौं उपत्यका र पूर्वी नेपाललाई जोड्ने प्रमुख प्रवेशद्वार साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ। मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माण सम्पन्न भइसकेको छ भने अहिले अन्तिम चरणका काम तीव्र गतिमा भइरहेका छन्।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनाको सबैभन्दा महत्त्वपूर्ण संरचनाका रूपमा रहेको यो अन्डरपास सञ्चालनमा आएपछि साँगा क्षेत्रमा लामो समयदेखि हुने ट्राफिक जाम र यात्रुको सास्ती उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

आयोजनाअनुसार अन्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ। यसमध्ये बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर पहुँचमार्ग निर्माण गरिएको छ। मुख्य अन्डरपास भने १८ मिटर लामो, ६ मिटर अग्लो र १०.५ मिटर चौडा रहेको छ।
निर्माणको पहिलो चरणको कालोपत्रे सम्पन्न भइसकेको छ। हाल साइड रिटेनिङ वाल निर्माण तथा अन्तिम तहको कालोपत्रे गर्ने काम भइरहेको छ।

आयोजना सम्पन्न भएपछि काठमाडौं तथा भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अन्डरपास प्रयोग गर्नेछन् भने बनेपाबाट काठमाडौंतर्फ आउने सवारीसाधन माथिल्लो सडकबाट सञ्चालन गरिने व्यवस्था मिलाइनेछ।
बर्खायाममा सडक निर्माणका बाँकी कामसँगै सवारी आवागमन सहज बनाउन अस्थायी ट्राफिक व्यवस्थापन पनि गरिएको छ। हाल माथिल्लो लेनमा निर्माण भइरहेकाले काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फका सवारीसाधनलाई अन्डरपासका दुई लेनमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ।

१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ। पहिलो खण्ड सूर्यविनायकदेखि साँगासम्म ७.५ किलोमिटर र दोस्रो खण्ड साँगादेखि धुलिखेलसम्म ८.३ किलोमिटर रहेको छ।
आयोजनामा दोस्रो खण्डको निर्माण अपेक्षाकृत तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण अवधि दोस्रोपटक थप गर्दै २०८३ फागुन मसान्तसम्म कायम गरिएको छ।

आयोजना स्रोतका अनुसार समग्र सडक विस्तार आयोजनाको भौतिक प्रगति पनि करिब ९५ प्रतिशत पुगेको छ। यसै वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
साँगा अन्डरपास सञ्चालनमा आएपछि अरनिको राजमार्ग हुँदै काठमाडौं आउने-जाने यात्रुको यात्रा समय घट्नुका साथै ट्राफिक व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।


