Nepal Purbadhar

बाँदरलाई लक्षित गरेर निर्माण गरिएको नेपालकै पहिलो ‘क्यानोपी ब्रिज’ के हो?


नवलपरासी। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदर, लङ्गुरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ।

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजी क्षेत्रमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी तथा इन्जिनियर शिव खनालले बताए।

उनका अनुसार नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो। सडक विस्तारका कारण वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने असर न्यूनीकरण गर्न यो संरचना निर्माण गरिएको उनले बताए।

इन्जिनियर खनालका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झर्नुपर्ने अवस्था कम गर्न तथा सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम घटाउने उद्देश्यले क्यानोपी ब्रिज निर्माण गरिएको हो। यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षण गर्नुका साथै चालक र यात्रुको सुरक्षामा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

९२ प्रतिशतभन्दा बढी भौतिक प्रगति

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो। आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ।

आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ। आयोजना कार्यालयका अनुसार जुन २०२६ सम्म पूर्वी खण्डको समग्र भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।

सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन्।

इन्जिनियर खनालका अनुसार जैविक विविधता संरक्षणलाई ध्यानमा राखेर निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा वातावरणमैत्री पूर्वाधार विकासको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ।


Read Previous

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक : ऊर्जा मन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar