
नेपालगञ्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपालगञ्जमा देखिएको विद्युत् आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक बजेट, कार्ययोजना र वितरण पूर्वाधार सुदृढीकरणका कार्यक्रम अघि बढाइने बताएका छन्।
शनिबार नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय, बाँके जिल्लाका वितरण शाखाका प्रमुख, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिसँगको छलफल र नेपालगञ्ज वितरण केन्द्रको निरीक्षणपछि मन्त्री श्रेष्ठले विद्युत् आपूर्तिलाई भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन मन्त्रालयले आवश्यक समन्वय गर्ने बताएका हुन्।
निरीक्षणका क्रममा नेपालगञ्ज वितरण प्रणालीको अवस्था, प्राविधिक समस्या तथा बढ्दो विद्युत् मागबारे जानकारी लिइएको थियो। लामो समयदेखि वितरण सञ्जालको पर्याप्त स्तरोन्नति हुन नसक्दा पूर्वाधारमा दबाब बढेको र पुरानो संरचनाले बढ्दो विद्युत् भार धान्न नसकेको जानकारी प्राधिकरणका अधिकारीहरूले मन्त्रीलाई गराएका थिए।
मन्त्रालयका अनुसार सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा अपेक्षित सुधार हुन सकेको छैन। वार्षिक करिब १५ प्रतिशतका दरले विद्युत् माग बढिरहेको, कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणाली, नजिक पर्याप्त विद्युत् उत्पादन केन्द्रको अभाव, न्यून भोल्टेज, फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन सञ्चालनमा ढिलाइका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको छ।
मन्त्री श्रेष्ठले अत्यधिक गर्मी हुने नेपालगञ्जमा गुणस्तरीय र निरन्तर विद्युत् सेवा सुनिश्चित गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षदेखि वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताए।
उनका अनुसार निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन छिट्टै सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिनेछ। साथै, थप क्षमताका ट्रान्सफर्मर जडान, वितरण सञ्जाल विस्तार, पुराना लाइन तथा कन्डक्टर स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर निर्माण र प्रभावकारी लोड व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
मन्त्रालयले फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेजलगायतका प्राविधिक समस्याको विस्तृत अध्ययन गरी समाधानका लागि आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाएको छ।
मन्त्री श्रेष्ठले नेपालगञ्जका घरेलु उपभोक्ता, उद्योग–व्यवसाय तथा अन्य ग्राहकले भरपर्दो र सुरक्षित विद्युत् सेवा पाउने वातावरण बनाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले समन्वयात्मक रूपमा काम गर्ने बताए।
