
सिन्धुली। राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा प्रयोग गरेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा स्थानीय माझी, मगर, नेवार र तामाङ समुदायको उत्साहजनक सहभागिता रहेको थियो। आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै जाँदा ठूलो संख्यामा हलगोरु प्रयोग गरेर सामूहिक रूपमा गरिने परम्परागत रोपाइँ दुर्लभ बन्दै गएको अवस्थामा स्थानीय संस्कृति र कृषि परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमका क्रममा करिब पाँच रोपनी खेतमा रोपारहरूले असारे भाका गाउँदै छुपुमा-छुपु धान रोपे। खेतभरि गुञ्जिएका असारे गीत र सामूहिक रोपाइँले गाउँको परम्परागत कृषि संस्कृतिलाई जीवन्त बनाएको थियो।
रोपाइँसँगै सहभागीहरूले खेतमा हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने (टग अफ वार) जस्ता मनोरञ्जनात्मक गतिविधिमा पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए। यसले कार्यक्रममा कृषि मात्रै नभई स्थानीय संस्कृति, मनोरञ्जन र सामुदायिक एकताको झल्को दिएको थियो।
नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्व मनाइन्छ। वर्षायामको सुरुवातसँगै हुने धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा तथा नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ। मरिण गाउँपालिकाले आयोजना गरेको यस्तो परम्परागत रोपाइँ कार्यक्रमले आधुनिकताबीच हराउँदै गएको कृषि संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

