
काठमाडौं। देशभर मनसुन क्रमशः सक्रिय हुँदै गएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनअनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, देशका पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि क्रमशः फैलिने सम्भावना छ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो, गेग्र्यान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने चेतावनी महाशाखाले दिएको छ। साथै, ठूला तथा साना नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको छ।
