Nepal Purbadhar

अब झ्याप-झ्याप जानेछैन बिजुली, ११ हजार भोल्ट लाइन चालु अवस्थामै मर्मत गर्न मिल्ने प्रविधि सुरु


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति अवरुद्ध नगरी ११ हजार भोल्ट (११ केभी) को चालु वितरण लाइनमै मर्मत गर्न सकिने ‘लाइभ-लाइन’ प्रविधिको सफल परीक्षण गर्दै यसको औपचारिक शुभारम्भ गरेको छ।

उपभोक्तालाई निरन्तर, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट उक्त प्रविधिको प्रयोग शुरू गरेको हो। नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको उपस्थितिमा प्रविधिको शुभारम्भ गरिएको थियो।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप-कार्यकारी निर्देशक नवराज ओझाका अनुसार बुटवल उपमहानगरपालिका-११, कालिकानगरस्थित ११ केभी लाइनमा तालिमप्राप्त प्राविधिक टोलीले विद्युत आपूर्ति बन्द नगरी सफलतापूर्वक मर्मत कार्यको परीक्षण गरेको हो।

ओझाले मर्मतका लागि विद्युत कटौती गर्नुपर्ने अवस्थालाई न्यून गर्दै उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउने लक्ष्यका साथ प्राधिकरणले आधुनिक ‘लाइभ-लाइन’ प्रविधि भित्र्याउने प्रयास गरिरहेको बताए। उनका अनुसार सफल परीक्षणसँगै अब चालु लाइनमै सुरक्षित रूपमा मर्मत गर्न सक्ने प्राविधिक क्षमता विकास भएको छ।

कामु कार्यकारी निर्देशक श्रेष्ठले हाल नमुनाका रूपमा गरिएको परीक्षणले भविष्यमा प्राविधिक सम्भाव्यताका आधारमा मर्मतका क्रममा विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्थालाई उल्लेखनीय रूपमा कम गर्न मद्दत पुग्ने बताए। उनले यसको प्रभावकारिता मूल्याङ्कन गरी क्रमशः सहरी क्षेत्रका मुख्य वितरण लाइनमा विस्तार गरिने जानकारी दिए।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले उपभोक्तालाई बिना अवरोध विद्युत सेवा उपलब्ध गराउने अभियानमा यो प्रविधिको सुरुवात महत्वपूर्ण उपलब्धि भएको बताए।

कार्यक्रममा बुटवल ग्रिड महाशाखाका प्रमुख अनिल बन्जाडे, विभिन्न वितरण केन्द्रका प्रमुख तथा आयोजना प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

प्राधिकरणका अनुसार ‘लाइभ-लाइन’ प्रविधिको प्रयोग विस्तार भएपछि मर्मत तथा सम्भारका क्रममा हुने विद्युत कटौती उल्लेखनीय रूपमा घट्ने, सेवा अझ भरपर्दो बन्ने र उपभोक्ताले निरन्तर विद्युत आपूर्ति प्राप्त गर्ने अपेक्षा गरिएको छ।


Read Previous

सम्पदा क्षेत्रको सौन्दर्यकरण: इन्द्रचोकदेखि विशाल बजारसम्म परम्परागत शैलीका सडकबत्ती जडान

Read Next

थुम्लुङ खोलामा पक्की पुल निर्माणको काम तीव्र, ५५ प्रतिशत काम सम्पन्न भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar