
नेपालगञ्ज, जनकपुर, विराटनगर, भैरहवा र धनगढीलगायत क्षेत्रमा अत्यधिक गर्मी महसुस गरिएको छ। तस्बीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौं। तराई क्षेत्रमा तापक्रम लगातार बढ्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तातो मौसमका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
विभागको पूर्वानुमानअनुसार धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्छ भने नेपालगञ्ज र भैरहवामा ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। वीरेन्द्रनगर र घोराहीमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ।
विभागले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ।
