Nepal Purbadhar

सिक्टा नहरको पानीले बाँकेमा धान रोपाइँ तीव्र, २२ हजार हेक्टरमा सिँचाइ सुविधा


जानकी। पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँले तीव्रता पाएको छ। नहरमार्फत नियमित पानी उपलब्ध हुन थालेपछि किसानले वर्षाको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका हुन्।

राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी किसान मेलिना चौधरीले सिक्टा नहरको पानी प्रयोग गर्दै चार कट्ठा खेतमा धान रोपिसकेकी छन् भने बाँकी नौ कट्ठा खेतमा रोपाइँ सम्पन्न गर्ने तयारीमा छिन्। उनका अनुसार नहरमा पानी आएपछि वर्षा नपरे पनि निर्धक्क भएर खेती गर्न सहज भएको छ।

स्थानीय किसान मनसरा डाँगीले पनि सिक्टा आयोजनाको पानीले खेतीपातीमा ठूलो राहत पुगेको बताए। पहिले पानीको अभावका कारण रोपाइँको समय अनिश्चित हुने गरे पनि अहिले समयमा खेती गर्न सकिने अवस्था बनेको उनको भनाइ छ।

सिक्टा सिँचाइ आयोजनाले आइतबारदेखि नवलपुर क्षेत्रमा पानी प्रवाह गरेपछि स्थानीय किसान रोपाइँमा सक्रिय भएका छन्। स्थानीय किसान चन्द्रबहादुर थापाले असारको पहिलो सातामै आफ्नो खेतमा धान रोपाइँ सम्पन्न गरिसकेको बताउँदै नहरको पानी उपलब्ध भएपछि खेती सहज भएको उल्लेख गरे। समयमै रोपाइँ गर्न पाएकाले यस वर्ष उत्पादन पनि राम्रो हुने अपेक्षा किसानहरूले गरेका छन्।

किसानका अनुसार सिक्टा नहरले वर्षामाथिको निर्भरता घटाएको छ। नियमित सिँचाइ सुविधाका कारण बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँले गति लिएको छ। आयोजनाले हालसम्म जिल्लाका करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिसकेको जनाएको छ।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार आयोजनाको मुख्य बाँधबाट पूर्वी र पश्चिम मूल नहरमार्फत विभिन्न शाखा नहरमा पानी वितरण भइरहेको छ। पूर्वतर्फ फत्तेपुर क्षेत्रका शाखा नहर तथा राजकुलोमा पानी प्रवाह भइरहेको छ भने पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँलगायत क्षेत्रमा सिँचाइका लागि पानी उपलब्ध गराइएको छ।

आयोजनाले सिँचाइ सुविधा पुर्‍याउनुपर्ने करिब ४३ हजार हेक्टर क्षेत्रमध्ये हाल २२ हजार हेक्टरमा पानी उपलब्ध गराइरहेको जनाएको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप १६ हजार हेक्टर क्षेत्र सिँचाइ सुविधामा जोडिने अपेक्षा गरिएको छ।

इन्जिनियर विष्टका अनुसार डुडुवा नहर प्रणाली निर्माणको पहिलो वर्षको काम सम्पन्न भइसकेको छ। आगामी दुई वर्षभित्र डुडुवा, खजुरा र मानपुर शाखासहितका संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। डुडुवा शाखा सञ्चालनमा आएपछि सिँचाइ क्षेत्र ३० देखि ३२ हजार हेक्टरसम्म विस्तार हुने अनुमान गरिएको छ।

हाल आयोजनाले ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्यसहित काम गरिरहेको छ। प्रत्येक वर्ष असारको पहिलो वा दोस्रो सातादेखि किसानलाई ब्याड राख्न तथा रोपाइँका लागि आवश्यक पानी उपलब्ध गराइँदै आएको आयोजनाले जनाएको छ।

यस वर्ष पर्याप्त वर्षा नभए पनि आयोजनाबाट पानी प्रवाह भएपछि कोहलपुर, जानकी, वैजनाथ, डुडुवा, खजुरा, राप्तीसोनारी तथा नरैनापुरका विभिन्न वडामा धान रोपाइँ सुरु भइसकेको छ। शाखा नहरमार्फत पानी पुगेपछि किसानहरू अहिले रोपाइँमा व्यस्त बनेका छन्।


Read Previous

ताप्लेजुङमा ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई ५० प्रतिशत अनुदान

Read Next

डेढ महिनामा डेढ लाख भारतीय पर्यटक पोखरा आए, पोखराका होटल भरिभराउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar