
फाइल तस्बीर।
दमौली। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँ स्थितमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले विद्युत्गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिएका थिए। उनले आयोजनाको उत्पादन क्षमता, सञ्चालन प्रणाली तथा पूर्वाधारको अवस्थाबारे चासो व्यक्त गर्दै आवश्यक जानकारी संकलन गरेका थिए।
सो अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि र पूर्वाधारको सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले ऊर्जा क्षेत्रको दिगो विकासका लागि विद्यमान आयोजनाको प्रभावकारी सञ्चालन र व्यवस्थापन आवश्यक रहेको धारणा राखे।
मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैनले विद्युत्गृहको समग्र अवस्था, उत्पादन क्षमता तथा सञ्चालनसम्बन्धी जानकारी गराएका थिए।
मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट हाल ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। आयोजना राष्ट्रिय विद्युत् प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने प्रमुख जलविद्युत् आयोजनामध्ये एक मानिन्छ।



