Nepal Purbadhar

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड, पर्यटन राजधानीमै ‘पर्यटन बजेट’ कम


कास्की।पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाखको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । चालु वर्षको तुलनामा आगामी बजेट रु एक अर्ब १९ करोड ८७ लाखले कम हो ।

बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख तथा समानीकरण अनुदान रु ४९ करोड ३७ लाख रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान रु ६० लाख, विशेष अनुदान रु ४० लाख र समानीकरण अनुदान रु आठ करोड १५ लाख ३६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व बाँडफाँटअन्तर्गत सङ्घीय सरकारबाट रु ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट रु चार करोड नौ लाख ८६ हजार, स्थानीय तह राजस्व बाँडफाँटबाट रु एक अर्ब ३१ लाख १४ हजार तथा आन्तरिक स्रोतबाट रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार संकलन हुने अनुमान गरिएको छ । कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रहने अनुमान गरिएको छ ।

महानगरले वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि, रोजगारी सिर्जना तथा वातावरणमैत्री दिगो सहरी विकासलाई बजेटका मुख्य उद्देश्य बनाएको छ ।

उपप्रमुख गुरुङका अनुसार चालु खर्च नियन्त्रण, राजस्व सुधार योजना कार्यान्वयन, निजी लगानी आकर्षण, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता हुन् ।

महानगरले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि रु १० करोड विनियोजन गरेको छ । पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजनाका लागि रु ५५ करोड ५० लाख ६३ हजार छुट्याइएको छ ।

त्यसैगरी पोखरा सभागृह पुनर्निर्माणका लागि रु पाँच करोड, शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि रु एक करोड २० लाख तथा गण्डकी बहुप्राविधिक शिक्षालयका लागि रु दुई करोड ६० लाख विनियोजन गरिएको छ ।

फोहरमैला व्यवस्थापनका लागि रु १५ करोड तथा प्रभावित क्षेत्र व्यवस्थापनका लागि थप रु पाँच करोड बजेट छुट्याइएको छ । तालचोक–बेगनास सडकको बाँकी काम सम्पन्न गर्न रु १५ करोड २५ लाख विनियोजन गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा पुनःस्थापनाका लागि रु तीन करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि रु तीन करोड, कृषि उत्पादन तथा आधुनिकीकरणका लागि रु तीन करोड ६८ लाख र उद्यम विकास तथा रोजगारी सिर्जनाका लागि रु एक करोड २५ लाख विनियोजन गरिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि रु ६० लाख तथा खेल पर्यटनका लागि रु ६६ लाख छुट्याइएको छ ।

महानगरका अनुसार चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म कुल बजेटको करिब ४० प्रतिशत मात्र खर्च भएको छ । चालुतर्फ र पुँजीगततर्फ दुवै क्षेत्रमा अपेक्षाभन्दा कम खर्च भएको पनि महानगरले जनाएको छ ।


Read Previous

बजेट कार्यान्वयन नहुने ‘भाष्य’ अन्त्य गर्नुपर्छ: अर्थमन्त्री वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar