
सांकेतिक तस्बीर।
भोजपुर। पौवादुङमा गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रममार्फत स्थानीयलाई रोजगारी प्रदान गर्दै ग्रामीण सडक स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका काम अघि बढाउने उद्देश्यले गाउँपालिकाका सबै छ वडामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमका लागि सङ्घीय सरकार र गाउँपालिकाले समान रूपमा रु ३१ लाख ७२ हजारका दरले बजेट विनियोजन गरेका छन् भने औजार, सुरक्षा सामग्री र ढुवानी व्यवस्थापनका लागि गाउँपालिकाले थप रु १८ लाख खर्च गरेको छ।
गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रममार्फत ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ। कामदारलाई दैनिक रु ७५४ पारिश्रमिक उपलब्ध गराइँदै आएको छ।
कार्यक्रमअन्तर्गत हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइ गर्ने काम सम्पन्न भएको छ। साथै १०० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिएकाले दुर्गम बस्तीका नागरिकलाई आवतजावतमा सहज भएको छ।
उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीय नागरिकको आयआर्जनमा टेवा पुर्याउनुका साथै श्रममा आधारित विकासको अवधारणालाई व्यवहारमा उतार्न सहयोग गरेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले स्थानीय श्रम प्रयोग गर्दा लागत घट्नुका साथै विकास निर्माणप्रति नागरिकको स्वामित्व भावना पनि बढेको बताए।
गाउँपालिका अध्यक्ष किरण राईले विकासलाई रोजगारीसँग जोड्ने नीति अनुसार यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसले दिगो विकासका लागि आधार तयार गरिरहेको बताए।
स्थानीयवासी ध्रुव राईका अनुसार कार्यक्रमले गाउँमै रोजगारीको अवसर सिर्जना गर्नुका साथै सडक सुधारसँगै दैनिक आवतजावत, कृषिउपज ढुवानी र सेवा प्रवाहमा समेत सहजता ल्याएको छ।
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता श्रममुखी तथा जनसहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधारलाई थप सुदृढ बनाउने जनाएको छ।
