Nepal Purbadhar

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित, ३५४ जना नियमित औषधि सेवनमा


तानसेन। पाल्पा जिल्लामा हालसम्म ८४२ जना मानव इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार तीमध्ये ३५४ जनाले नियमित रूपमा एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) औषधि सेवन गरिरहेका छन्। यीमध्ये १२ जना बालबालिका रहेका छन्।

सङ्क्रमितहरू पाल्पा अस्पताल र रामपुर अस्पतालस्थित एआरटी सेन्टरमार्फत नियमित औषधि सेवन गरिरहेका छन्। स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जना सङ्क्रमितको मृत्यु भएको थियो।

अधिकृत न्यौपानेले जिल्लामा अझै पनि केही सङ्क्रमित सामाजिक अपमान, भेदभाव र लाञ्छनाको डरले खुल्न नसकेको भन्दै वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने सम्भावना रहेको बताए।

उनका अनुसार नेपालमा सुईद्वारा लागूऔषध प्रयोग गर्ने व्यक्ति, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय र रोजगारीका लागि विदेशिनेहरू एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूह हुन्।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले एचआइभीबारे जनचेतना अभिवृद्धि गर्न जनप्रतिनिधि, पत्रकार, प्रहरी तथा सङ्क्रमित र जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ।

कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन्। नियमित औषधि सेवन गर्दा भाइरस नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने र सामान्य जीवनयापन सम्भव हुने उनीहरूको भनाइ थियो।

अधिकृत न्यौपानेले एआरटी नियमित सेवन नगरे उपचारको प्रभावकारिता घट्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्ने बताए।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएका छन्।

नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी सङ्क्रमितलाई आधारभूत सेवा, शिक्षा, स्वास्थ्य तथा रोजगारीबाट वञ्चित गर्न नहुनेमा जोड दिए।

त्यस्तै, प्रतिबद्ध समूहकी प्रबन्धक अस्मिता भण्डारीले सामाजिक भयका कारण सङ्क्रमितहरू अझै खुल्न नसकेको भन्दै सुरक्षित र भेदभावरहित वातावरण सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चारमाध्यमले सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताए।


Read Previous

रास्वपाको बागमती प्रदेश अधिवेशनमा मतदान शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar