Nepal Purbadhar

स्थानीय सहभागितामा सिद्धपोखरी मर्मत, भदौसम्म सम्पन्न गर्ने लक्ष्य- फोटो फिचर्स


भक्तपुर । भक्तपुर नगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्य स्थानीयको सहभागितामा तीव्र बनाएको छ। नगरपालिकाले ठेक्का प्रणालीको सट्टा उपभोक्ता समितिमार्फत स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा सहभागी गराउँदै संरक्षण कार्य अघि बढाएको हो।

नगरपालिकाका अनुसार कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिमार्फत पोखरीको पानी नजिकैका भाजु पुखु र नःपुखुबाट पाइपमार्फत पानी स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य शुरू गरिएको हो।

नगरपालिकाले आगामी भदौको दोस्रो सातासम्म मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा संरचनागत मर्मत कार्य भइरहेको छ।

नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफा–भजन समूह, गुठी तथा विभिन्न संघसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ। सार्वजनिक बिदाका दिन स्थानीयको सहभागिता उल्लेख्य रहने गरेको बताइएको छ।

सिद्धपोखरी भक्तपुरको प्रमुख ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा मानिन्छ। भक्तपुर दरबार क्षेत्र आसपासको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक रहेको यो पोखरी चारैतिर बलियो पर्खालले घेरिएको छ भने कलात्मक प्रवेशद्वारहरूले यसको ऐतिहासिक महत्व झल्काउँछन्।

करिब ५७४ फिट लम्बाइ, २४९ फिट चौडाइ र करिब १० फिट गहिराइ रहेको यो आयताकार पोखरी नेपालकै सबैभन्दा पुराना र ठूला मानव निर्मित पोखरीमध्ये एक मानिन्छ।

इतिहासअनुसार नेपाल संवत् २३९ (१३औँ शताब्दीको प्रारम्भ) मा राजा इन्द्रदेवले निर्माण गरेको यो पोखरी शुरूमा ‘इन्द्र दह’ नामले परिचित थियो। पछि १५औँ शताब्दीमा राजा यक्ष मल्लले जीर्णोद्धार गरेका थिए भने नेपाल एकीकरणपछि भीमसेन थापाको कार्यकालमा पुनःनिर्माण गरी ‘सिद्धपोखरी’ नामकरण गरिएको बताइन्छ।

नगरपालिकाले पुर्खाको गौरवशाली सम्पदा संरक्षणका लागि नियमित सरसफाइ, मर्मत तथा पुनःनिर्माण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

तस्बीरहरू: फोटो लाइब्रेरी


Read Previous

म विरुद्ध संगठित रूपमा अफवाह फैलाइयो- अर्थमन्त्री वाग्ले

Read Next

भाडा नतिर्ने उद्योगहरूलाई कारबाहीको चेतावनीपछि २४ घण्टामै १२ कम्पनीले तिरे भाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar