Skip to main content

Nepal Purbadhar

डेडिकेटेड ट्रंकलाइनसहित आधा खर्ब बढी विद्युत् महसुल बक्यौता तत्काल असुल्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता असुलीलाई उच्च प्राथमिकतामा राखेर तत्काल अगाडि बढ्न निर्देशन दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति तथा प्राधिकरणका उपकार्यकारी निर्देशकहरूसँग भएको छुट्टाछुट्टै बैठकमा मन्त्री श्रेष्ठले लामो समयदेखि विद्युत् महसुल बक्यौता विवाद समाधान हुन नसकेको र बक्यौता रकम पनि ठूलो परिमाणमा पुगेको भन्दै यसलाई शीघ्र टुंग्याउन आवश्यक रहेको बताए।

उनले सञ्चालक समितिले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको उल्लेख गर्दै विद्युत् महसुल, जरिवाना तथा अन्य सम्बन्धित विवादहरू उक्त समितिमार्फत पुनरावलोकन गर्न सकिने बताउनुभयो। अन्य प्रशासनिक तथा व्यवस्थापकीय काम भने नियमित प्रक्रियाअनुसार अघि बढाउन उहाँले सुझाव दिए ।

मन्त्री श्रेष्ठले बक्यौता असुलीका लागि मन्त्रालयको थप निर्देशन कुर्न आवश्यक नरहेको स्पष्ट पार्दै विगतमा यस विषयमा पर्याप्त अध्ययन, छानबिन र निर्णय भइसकेकाले प्रचलित ऐन, नियम र प्रक्रियाअनुसार काम गर्न आग्रह गर्नुभयो। कसैप्रति पक्षपात नगरी समान व्यवहारका साथ बक्यौता असुली प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो।

डेडिकेटेड फिडर र ट्रंक लाइनका उपभोक्तासँगै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र तथा सडक बत्ती लगायत सबै क्षेत्रबाट बक्यौता असुल गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। कानुनी प्रक्रियामा रहेका विषयबाहेक अन्य क्षेत्रमा बक्यौता उठाउन प्राधिकरणले ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता रकम ५० अर्ब १ करोड रुपैयाँ पुगेको छ। उक्त रकम असुलीलाई प्रभावकारी बनाउने विषय अहिले प्राधिकरणको प्रमुख चुनौतीका रूपमा रहेको छ।

प्राधिकरणका अनुसार करिब २६ अर्ब रुपैयाँ डेडिकेटेड फिडर तथा ट्रंकलाइनको रहेको छ । उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिरेका छैनन् । ९ अर्ब रुपैयाँभन्दा बढी रकम सडक बत्तीको रहेको छ । स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेर महसुल तिरेका छैनन् । अन्य विभिन्न खालका बक्यौताहरु बाँकी छन् ।


Read Previous

रोयल क्लब सदस्यका लागि बुद्ध एयरको ‘गज्जबको डिस्काउन्ट अफर’

Read Next

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा भाटभटेनीका ग्राहकले ब्याज तिर्नु नपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar