
काठमाडौं। घरेलु तथा साना उद्योग महासंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले साना उद्योगप्रति पर्याप्त ध्यान नदिएको गुनासो गरेको छ। संघले बुधवार(आज) आफ्नो धारणा सार्वजनिक गर्दै लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका विषयमा बजेटले अपेक्षित प्राथमिकता दिन नसकेको जनाएको हो।
यद्यपी, महासंघले बजेटलाई समग्रमा स्वागत गर्दै उद्योग तथा व्यवसायमैत्री कर नीति, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, उत्पादन तथा रोजगारी वृद्धि, ऊर्जा र पूर्वाधार विकासका कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिइएको जनाएको छ।
नयाँ बजेटले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास सकेत व्यक्त गरेको छ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बजेटमा घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, घरेलु उत्पादनको संरक्षण तथा प्रवर्द्धन, युवा तथा महिला उद्यमीलाई विशेष सहुलियत, सीप विकास तथा बजार व्यवस्थापनका कार्यक्रम व्यवहारमा लागू गर्न सरकारसँग आग्रह गरे।
महासंघले निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको वृद्धिले साना उद्योगी व्यवसायीलाई थप दबाब परेको उल्लेख गर्दै त्यसको समाधानका लागि थप नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेको जनाएको छ। साथै स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याउन पनि सरकारलाई आग्रह गरेको छ।
महासंघले सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
