Nepal Purbadhar

पाँच महिनामै मुस्ताङमा १ लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटक, भारतीय उच्च


मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा सन् २०२६ को पहिलो पाँच महिनामै एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको इलाका संरक्षण कार्यालय, जोमसोमका अनुसार जनवरीदेखि मे महिनासम्म कुल १ लाख ४२ हजार ७३९ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।

एक्यापका अनुसार उक्त अवधिमा सार्क राष्ट्रका १ लाख २९ हजार ३४१ तथा अन्य मुलुकका १३ हजार ३९८ पर्यटक मुस्ताङ पुगेका छन्। मे महिनामा मात्रै ६५ हजार ९९४ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्, जसमध्ये ६१ हजार ७९८ जना सार्क राष्ट्रका र ४ हजार १९६ जना अन्य देशका रहेका छन्।

एक्याप कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार गत वर्षको जनवरीदेखि मेसम्म ५५ हजार ७५३ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। यस वर्ष सोही अवधिमा पर्यटक आगमन ८६ हजार ९८६ ले बढेको छ, जसले मुस्ताङप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको संकेत गरेको छ।

तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मुस्ताङ आउने विदेशी पर्यटकमध्ये ९१ प्रतिशत सार्क राष्ट्रका र ९ प्रतिशत अन्य मुलुकका रहेका छन्। सार्क राष्ट्रबाट आएका पर्यटकमध्ये करिब सबैजसो भारतीय नागरिक रहेको एक्यापले जनाएको छ।

मे महिनामा मात्रै मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये ९४ प्रतिशत सार्क राष्ट्रका र ६ प्रतिशत अन्य देशका रहेका थिए। गर्मी बिदाको अवसरमा नेपाल आएका भारतीय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुग्ने गरेको प्रमुख गुप्ताले बताए।

पर्यटन गतिविधि बढेसँगै मुस्ताङका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यहरूमा चहलपहल बढेको छ। सन् २०२५ मा कुल १ लाख ६१ हजार १२२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। चालु वर्षको आगमन दर हेर्दा यो सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।


Read Previous

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ५० प्रतिशत सम्पन्न

Read Next

तापक्रम ४० डिग्रीमाथि, मधेसको जनजीवन प्रभावित, ‘लु’ को जोखिम बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar