
पोखराको फेवातालमा बोटिङ गर्दै पर्यटक। तस्बीर: फोटो लाइब्रेरी
पोखरा। बढ्दो गर्मीका बीच शीतलता र मनोरञ्जनको खोजीमा आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षण पोखराको फेवातालतर्फ बढ्न थालेको छ। ताल क्षेत्रमा जलक्रीडामा सहभागी हुने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।
फेवातालमा पछिल्ला वर्षहरूमा ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ (एसयूपी) युवापुस्तामाझ लोकप्रिय गतिविधिका रूपमा स्थापित हुँदै गएको छ। तालको शान्त पानीमाथि विशेष बोर्डमा उभिएर प्याडल चलाइने यो साहसिक खेलले युवा पर्यटकहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ।

पर्यटन व्यवसायीहरूका अनुसार एसयूपीले मनोरञ्जनसँगै शारीरिक व्यायाम र सन्तुलन विकास गर्ने अवसर प्रदान गर्ने भएकाले यसको लोकप्रियता निरन्तर बढिरहेको छ। तापक्रम वृद्धि भएसँगै फेवातालमा डुंगा सयर, कायकिङ र स्ट्याण्ड अप प्याडल बोर्डिङमा सहभागी हुनेहरूको चहलपहल पनि बढेको छ।
विशेषगरी बिहान र साँझको समयमा तालमा एसयूपी गर्ने पर्यटकहरूले हिमाल, ताल र आसपासको हरियालीको मनोरम दृश्यको आनन्द लिन पाउने गरेका छन्। सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियो साझेदारी गर्न सकिने भएकाले पनि युवा पुस्ताको रोजाइमा यो गतिविधि पर्न थालेको व्यवसायीहरू बताउँछन्।

जलपर्यटन व्यवसायीहरूका अनुसार स्ट्याण्ड अप प्याडल बोर्डिङले पोखराको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थपेको छ। प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव खोज्ने पर्यटकका लागि फेवाताल अहिले प्रमुख गन्तव्य बन्दै गएको छ।
गर्मीको मौसम थप चर्किंदै जाँदा फेवातालमा जलक्रीडाको अनुभव लिन आउने पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूले सुरक्षित र व्यवस्थित सेवा विस्तारमार्फत पोखरालाई जलपर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासलाई तीव्र बनाएका छन्।



तस्वीर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

