
काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) र इन्डक्सन चुलोलाई राष्ट्रिय ऊर्जा नीतिको केन्द्रमा राख्दै नयाँ रणनीति अघि सारेको छ। ‘विद्युत खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ मार्फत सरकारले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा रहेको निर्भरता घटाएर देशभित्रै उत्पादित बिजुलीको खपत बढाउने स्पष्ट योजना सार्वजनिक गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको रणनीतिअनुसार अब घरेलु भान्सादेखि सडक यातायातसम्म विद्युतीकरणलाई तीव्र बनाइनेछ। यसले नेपालभित्र उत्पादित बिजुलीको माग बढाउनुका साथै पेट्रोलियम आयातमा खर्च हुने अर्बौं रुपैयाँ बचत गर्ने सरकारको अपेक्षा छ।
रणनीतिमा घरायसी तथा व्यावसायिक क्षेत्रमा एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै इन्डक्सन चुलो, विद्युतीय हिटर र ऊर्जा दक्ष उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ। सरकारी कार्यालय, सार्वजनिक संस्था र सुरक्षा निकायमा समेत विद्युतीय खाना पकाउने प्रणाली विस्तार गर्ने योजना समेटिएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युत उत्पादन बढे पनि घरेलु खपत सोही अनुपातमा बढ्न सकेको छैन। वर्षायाममा अतिरिक्त बिजुली खेर जाने अवस्था रहेकाले सरकारले अब भान्सालाई बिजुली खपतको मुख्य क्षेत्र बनाउन खोजेको हो। इन्डक्सनको प्रयोग बढे एलपी ग्यास आयातमा ठूलो कमी आउने सरकारी निष्कर्ष छ।
त्यस्तै, यातायात क्षेत्रमा विद्युतीय सवारीलाई आक्रामक रूपमा विस्तार गर्ने नीति लिइए को छ। रणनीतिअनुसार देशभर चार्जिङ स्टेशन सञ्जाल विस्तार गरिनेछ भने पेट्रोल पम्पमै चार्जिङ सुविधा उपलब्ध गराउने तयारी छ। सार्वजनिक यातायातमा विद्युतीय बस सञ्चालन बढाइने र निजी क्षेत्रलाई समेत ईभी पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गरिनेछ।
सरकारले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण (मोडिफिकेसन) गर्न कानुनी तथा नीतिगत सहजीकरण गर्ने संकेत पनि दिएको छ। यसले पुराना सवारीलाई नयाँ ईभी प्रणालीमा रूपान्तरण गर्ने बजार खुल्ने अपेक्षा गरिएको छ।
नेपालले हाल पेट्रोलियम पदार्थ आयातमा वार्षिक ठूलो रकम खर्च गर्दै आएको छ। यदि ईभीको प्रयोग व्यापक भयो भने डिजेल, पेट्रोल र ग्यासको आयात उल्लेख्य रूपमा घट्नेछ। यसले व्यापार घाटा कम गर्नुका साथै वायु प्रदूषण नियन्त्रणमा पनि सहयोग पुग्नेछ।
सरकारले आगामी दशकमा प्रति व्यक्ति विद्युत खपत १,५०० युनिट पुर्याउने लक्ष्य राखेको छ। यसको मुख्य आधार नै घरायसी खाना पकाउने क्षेत्र र यातायात क्षेत्रलाई बिजुलीमा रूपान्तरण गर्नु रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्।
रणनीति कार्यान्वयन सफल भए अब नेपाली भान्सामा ग्यास सिलिन्डरको ठाउँ इन्डक्सनले लिनेछ भने सडकमा पेट्रोल गाडीको ठाउँ विद्युतीय सवारीले भरिने संकेत देखिएको छ। यसले ऊर्जा सुरक्षादेखि अर्थतन्त्रसम्म व्यापक प्रभाव पार्नेछ।
नेपालमा उत्पादन भएको बिजुली नेपालमै खपत गराउने सरकारको नयाँ अभियान अब भान्सा र सडकबाट सुरु हुने देखिएको छ।
