
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गरिएको हो।
कम्पनीले आफ्नो ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वितरण भइसकेको छ।
हाल सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गरिँदैछ, जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ हुन्छ। बाँकीमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा चैत २५ गते बन्द हुने र माग अनुसार आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म खुला रहनेछ।
कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ। उक्त आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी छ।
यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउण्टमा १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
