Nepal Purbadhar

भेरी करिडोरको ३३ किमी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई


काठमाडौं । भेरी करिडोर अन्तर्गत पर्ने ३३ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको छ। चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईंको पहलमा प्रस्ताव अघि बढाएर मन्त्रिपरिषदबाट स्वीकृत गरिएको हो। भेरी करिडोरको छिन्चु–जाजरकोट–दुनै–धो–मरिम सडक खण्डअन्तर्गत डोल्पाको लासिकाफदेखि सिसौलसम्मको भूभाग अत्यन्तै भिरालो र कडा चट्टानी भएकाले सडक निर्माणमा कठिनाइ देखिएको छ। यही कारण उक्त खण्डको ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको हो।

यस निर्णयले डोल्पाको दुर्गम क्षेत्रमा सडक पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै हिमाली पर्यटन प्रवर्द्धनमा समेत यसले महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

भेरी करिडोर राष्ट्रिय राजमार्ग (एनएच–५७) अन्तर्गत पर्ने सडक हो, जुन बाँकेको जमुनाहबाट सुरु भई सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो, तिन्जेसम्म पुग्ने र अन्ततः चीनको तिब्बत सीमासम्म जोडिने लक्ष्य राखिएको छ। नेपाल, भारत र चीनलाई जोड्ने सम्भावना भएकाले यस सडकलाई रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

२०७५ साल मंसिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलिएको र सोही अवसरमा औपचारिक उद्घाटन गरिएको थियो। तर लामो समय बितिसक्दा पनि करिडोरको निर्माण कार्य पूर्ण हुन सकेको छैन् ।

भेरी करिडोर कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्नेछ। यसमध्ये छिन्चुदेखि जाजरकोटसम्मको १ सय ७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। जाजरकोटको खलंगादेखि रिम्ना हुँदै रुकुम पश्चिमको चिसापानीसम्मको सडक पनि कालोपत्रे सम्पन्न भइसकेको छ भने चिसापानीदेखि तल्नुबगरसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे गर्ने क्रममा रहेको छ।

यद्यपि, २०७५ सालमै ट्रयाक खुलेको कतिपय खण्डमा हालसम्म स्तरोन्नतिको काम हुन सकेको छैन। साँघुरो सडक, पहिरो र ढुंगामाटो खस्ने समस्या अझै कायम रहेको बताइएको छ।

करिडोर पूरा भएमा चीन, नेपाल र भारतबीच व्यापारिक आवागमन सहज हुने अपेक्षा गरिएको छ। साथै यसले आर्थिक गतिविधि, पर्यटन विकास तथा कूटनीतिक सम्बन्ध विस्तारमा पनि टेवा पुर्‍याउने विश्वास गरिएको छ।

सडक निर्माण सम्पन्न भएपछि डोल्पाका फोक्सुण्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरासुन्दरी मन्दिरजस्ता पर्यटकीय स्थलमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। त्यस्तै यार्सागुम्बा, जटामसी, स्याउ र ओखरजस्ता स्थानीय उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पाउने सम्भावना पनि बढ्ने देखिन्छ।

यसैगरी धो क्षेत्रमा प्रस्तावित हिमाली सहर विकास योजनामा समेत यस सडकले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

३ अर्बमा नेपालगञ्ज विमानस्थलमा तयार भयो अत्याधुनिक टर्मिनल भवन

Read Next

तस्बिरमा संघीय संसदको प्रतिनिधिसभामा विभिन्न समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको भूमिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar