
काठमाडौं । इजरायल र इरानबीच युद्ध सुरु भएको चौथो दिन भएको छ । दुई देशबीचको युद्ध चर्किने संकेत देखिरहँदा यसले विश्वभरमा नै तेल तथा ग्यासको उत्पादनमा असर गर्ने देखिएको छ । शुक्रबार इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्वभरमा नै सेयर बजारमा पनि असर देखिएको थियो । तर, हाल भने त्यसमा केही सुधार आएको छ ।
शनिबार इजरायलले इरानका उच्च सैन्य अधिकारीहरु तथा आणविक वैज्ञानिकलाई मारेको थियो भने केही न्युक्लियर (आणविक) केन्द्रहरुमा पनि क्षति पुर्याएको थियो । इजरायलले शनिबार इरानको साउथ पर्सस्थित ग्यास उत्पादन क्षेत्रमा हमला गरेको र त्यहाँ ठूलो आगलागीसमेत भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानकाअनुसार हालसम्म इजरायली आक्रमणमा २२० भन्दा धेरैको मृत्यु भएको छ, जसमा ७० जना बालबालिका तथा महिला रहेका छन् ।
इरानले जवाफी कारबाहीका रुपमा इजरायलमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको छ, जसमध्ये केहीले मात्रै इजरायलको सुरक्षा प्रणालीलाई असफल बनाउन सकेका छन् । यी आक्रमणमा २४ जनाको मृत्यु भएको बताइएको छ ।
मध्य पूर्वमा दुई ठूला सैन्य शक्ति युद्धतर्फ लागिरहँदा विश्वभरकै वित्त बजार तथा हवाई क्षेत्रमा यसले असर गर्न थालेको छ । साथै विश्लेषकहरुले तेलको मूल्यमा पनि उतारचढावको सम्भावना देखेका छन्, जसले समग्र विश्वकै वितरण प्रणाली र ढुवानीलाई पनि असर गर्ने शंका गरिएको छ । यससँगै लगानीकर्ताहरुले थप सुरक्षाको प्रत्यानुभुति महसुस गर्नका लागि सुनमा लगानी स्थानान्तरण गर्न थालेका छन् ।
साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत इरानलाई दिएको धम्कीले थप अन्योल सिर्जना गरेको छ । उनले इरानले आणविक सम्झौतामा हस्ताक्षर नगरेमा केही बाँकी नरहने र अर्को चरणको आक्रमण अझ क्रु हुने चेतावनी दिएका छन् ।
बजार र तेलको मूल्यमा असर
दुई देशबीचको युद्धले विश्व बजारमा गहिरो असर परेको छ । युद्धका कारण ब्रेन्ट क्रुड तेलको मूल्य सोमबार ७ प्रतिशतले उक्लिएर प्रति ब्यारल ७४.६० डलर पुगेको छ । युद्ध सुरु हुनुभन्दा अघिल्लो दिनको तुलनामा तेलको मूल्यमा ७ प्रतिशतको बृद्धि भएको छ ।
विश्वभरकै प्राय: तेल तथा प्राकृतिक ग्यासजस्ता अन्य अत्यावश्यक सामग्रीहरु मध्यपुर्वका व्यस्त समुन्द्री मार्गबाट विश्वभरमा वितरण हुन्छन् । यो मार्गमा ‘स्ट्रेट अफ होर्मज’ पनि पर्छ ।
‘स्ट्रेट अफ होर्मज’ को मार्ग एउटा साँधुरो जलमार्ग हो, जसले इरानलाई खाडी देशहरुसँग छुट्याएको छ भने अरबियन सागरलाई हिन्द महासागरसँग जोड्छ । यहि मार्गबाट दैनिक २ करोड १० लाख ब्यारल तेल विश्वका विभिन्न देशका लागि ढुवानी हुन्छ, जुन विश्वभरमा वितरण हुने तेलको एक तिहाइ हो ।
३३ किलोमिटर फैलिएको यो मार्गबाट दैनिक विश्वको ३५ प्रतिशत तेल आपुर्ति हुन्छ ।
वैश्विक मूल्यबृद्धिमा प्रभाव
तेलको मूल्य बढेसँगै उत्पादनको लागत पनि बढ्न जान्छ । यसले क्रमश उपभोक्तालाई पनि असर गर्नेछ । मुख्य गरि खाना, कपडा र केमिकल उत्पादनमा बढि उर्जा खपत हुने हुँदा तेलको मूल्यमा भएको बृद्धिले यी क्षेत्रमा पनि मूल्यबृद्धि गराउने देखिन्छ ।
इरान र इजरायलबीचको युद्ध निरन्तर चलिरहेमा तेल आयात गर्ने देशहरुमा उच्च मूल्यबृद्धि र सुस्त आर्थिक बृद्धि भोग्नुपर्नेछ ।
वित्त बजारमा युद्धको प्रभाव
इरान र इजरायलबीचको युद्ध सुरु भएसँगै विश्वभरका वित्त बजारमा यसले असर गरेको छ । अमेरिकी सेयर बजार वाल स्ट्रिटमा असर देखिएको छ । शुक्रबार एस एण्ड पि ५०० र नास्ड्याकको बजारमा क्रमश: १.१ प्रतिशत र १.३ प्रतिशतको गिरावट देखिएको छ । त्यस्तै, इजिप्टको सेयर बजार इजिएक्स ३० सूचकांकमा पनि ७.७ प्रतिशतको गिरावट आएको छ भने इजरायलको तेलअविव सूचकांकमा पनि १.५ प्रतिशतले गिरावट देखिएको छ ।
युद्धका कारण सेयर बजारमा गिरावट आइरहँदा युद्ध सामग्री बनाउने कम्पनीहरुको सेयर मूल्यमा भने बृद्धि देखिएको छ ।
हवाई उडान प्रभावित
इरान र इजरायलको आकस्मिक सुरु भएको युद्धले मध्यपुर्वका हवाई उडानहरु प्रभावित भएका छन् । इमिरेट्स एयरलाइन्सले इरान, इराक, लेबनान र जोर्डनका लागि सबै उडानहरु जुन ३० सम्म स्थगित गरेको छ । इतिहाद एयरवेजले अबुदाबीबाट तेवअविवसम्मका उडानहरुलाई आइतबारसम्मका लागि स्थगीत गरेको छ ।
त्यस्तै, कतार एयरवेजले इरान, इराक र सिरियाका उडानहरु रोकेको छ भने इरान र इराकले आफ्नो आकाशीय क्षेत्रलाई बन्द गरेको छ । जोर्डनले पनि आफ्नो हवाई क्षेत्रलाई अस्थायी रुपमा बन्द गरेको जनाएको छ ।









