Skip to main content

Nepal Purbadhar

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली, १३ वितरण ट्रान्सफर्मर चार्ज


काठमाडौं । बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकालाई राष्ट्रिय ग्रिडमा जोडेको हो ।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म निर्माण गरिएको १३२ केभी प्रसारण लाइन र बुर्तिवाङमा निर्मित १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो ।

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी र छेन्तुङ क्षेत्रका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् ।

यससँगै उक्त क्षेत्रका स्थानीय बासिन्दाले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि त्यहाँका उपभोक्ता स्थानीय लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मा निर्भर थिए ।

राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने अपेक्षा गरिएको छ । यसबाट विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा समेत सुधार आउने प्राधिकरणको विश्वास छ ।

राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भएपछि स्थानीय बासिन्दासँगै पर्यटन व्यवसाय र समग्र क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । विशेषगरी पर्यटकीय सम्भावना बोकेको ढोरपाटन क्षेत्रमा भरपर्दो विद्युत् सेवा उपलब्ध हुँदा पर्यटन व्यवसाय सञ्चालन र विस्तारमा समेत सहजता आउनेछ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले ढोरपाटन क्षेत्रका उपभोक्ताले अब विद्युत् जडानका लागि जुनसुकै समयमा बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरेर सेवा लिन सक्ने जानकारी दिए ।

बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्रै राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी रहेको छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको मरासेनीले बताए ।

उनका अनुसार निसिलढोरमा विद्युतीकरणका लागि ठेक्का प्रक्रिया अघि बढाएर निर्माणको काम सुरु गरिनेछ । त्यहाँसमेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।


Read Previous

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

Read Next

त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar