Nepal Purbadhar

ढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको प्रयास, रातिसम्म आरूघाटका सबै क्षेत्रमा चार्ज गरिने

सांकेतिक तस्बिर।


काठमाडौं। बुढीगण्डकी र यसको सहायक नदी स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गोरखाको आरूघाट र धार्चे क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा नियमित गराउन प्राविधिक टोली परिचालन गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको आरूघाट वितरण केन्द्रले सोमबार रातिसम्म आरूघाटका सबै क्षेत्रमा विद्युत् लाइन चार्ज गर्ने प्रयास भइरहेको जनाएको छ। आरूघाट गाउँपालिका–३ को केउरपानी र ढुंगेमा २ ओटा ट्रान्सफर्मर चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

वितरण केन्द्रका अनुसार आरूघाट गाउँपालिका–३ अन्तर्गत सोती, लिदिङ र स्यामराङका ३ ओटा ट्रान्सफर्मरमा विद्युत् सेवा अवरुद्ध छ। त्यस्तै, धार्चे गाउँपालिकाका सबै क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको छ। अन्य क्षेत्रमा भने विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ।

विद्युत् मर्मतका लागि कर्मचारी बिहानै कार्यस्थलमा पुगे पनि सडक दिउँसो ३ बजे मात्रै खुलेका कारण काममा ढिलाइ भएको वितरण केन्द्रले जनाएको छ। सडक खुल्दै गएसँगै क्षतिग्रस्त संरचनाको मर्मत गरी विद्युत् सेवा क्रमशः सञ्चालन गरिने केन्द्रको भनाइ छ।

७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति

बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीसँगै जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ। गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका विद्युत् पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सोती, आर्खेत र आरूघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरू क्षतिग्रस्त भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा पनि न्यून भोल्टेजका ६ ओटा पोलमा क्षति पुगेको छ।

बाढीका कारण बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनामा क्षति पुगेको छ। आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलहरू प्रभावित भएका छन्।

केही क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुनासाथ नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम सुरू गरेको थियो।

प्राधिकरणले करिब १० घण्टाभित्रै गोरखाको भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गरेको थियो। त्यसैगरी, आरूघाट बजारसहित आरूघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरूपोखरी ब्रान्चमा पनि विद्युत् आपूर्ति सुरू भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसै हप्ताभित्र बाढी प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। सडक पहुँच र क्षतिग्रस्त संरचनाको अवस्थाअनुसार मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने मन्त्रालयको भनाइ छ।


Read Previous

आज राति ११ बजेदेखि ६ घण्टा पृथ्वी राजमार्ग बन्द हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar