
चितवन। रसुवाबाट बाढी र पहिरोले बगाएर चितवनसम्म ल्याएका शवको संख्या बढ्दै गएपछि जिल्ला प्रशासनले वैकल्पिक शवगृह निर्माणको तयारी थालेको छ।
भरतपुर अस्पतालमा शव राख्ने ठाउँ सीमित भएपछि नयाँ स्थानको व्यवस्था गर्न लागिएको हो। बुधबार मात्रै नदी किनारबाट फेला परेका ६४ ओटा शव भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नदी किनारका विभिन्न स्थानमा एकैपटक ठूलो संख्यामा शव फेला पर्न थालेपछि तत्कालै वैकल्पिक व्यवस्थाको आवश्यकता देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए।
उनका अनुसार चितवनमा हाल करिब ५० ओटा शव मात्र व्यवस्थापन गर्न सकिने क्षमता रहेकाले भरतपुरको एक सरकारी भवनमा वैकल्पिक शवगृह बनाउन आवश्यक तयारी तथा निर्माणको काम भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट त्रिशूली हुँदै नारायणी नदीमा बगेका शव चितवनसम्म आइपुग्ने क्रम जारी रहेकाले शव पहिचान तथा व्यवस्थापनका लागि प्रशासनले थप व्यवस्था मिलाउन थालेको हो।









