
काठमाडौँ । एक सातापछि विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा रहेको रसुवाको निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसीमा आएको भीषण बाढीले तहसनहस भएको छ।
बाढीले आयोजनाको पावर हाउस पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण आयोजनामा ठूलो क्षति पुगेको हो। निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरहरू सुरुङभित्र कङ्क्रिट ढलानको काममा व्यस्त थिए।
आयोजनामा मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए। उनीहरू बिहानदेखि सम्पर्कविहीन रहेको भट्टराईले बताए।
‘अर्को साता बत्ती बाल्ने तयारी थियो। तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला। तर हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ।’
उनका अनुसार बाढीले आयोजनाको पावर हाउसको संरचना नै नरहने गरी क्षति पुर्याएको छ। बाढीको पानी प्राकृतिक जलसतहभन्दा करिब १२५ मिटर माथिसम्म पुगेको उनले बताए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन्।
उनले अहिले आयोजनामा भएको भौतिक क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजी र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताए।
‘प्रोजेक्ट त फेरि बनाऔँला। तर मान्छे कहाँबाट ल्याउने?’ भट्टराईले भने, ‘मानवीय क्षति नै अहिले सबैभन्दा ठूलो चिन्ताको विषय हो।’
विद्युत् उत्पादनको अन्तिम तयारीमा पुगेको आयोजना बाढीले ध्वस्त बनाएपछि यसबाट आयोजनाको निर्माणमा भएको ठूलो लगानीसँगै निर्धारित समयमै विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत प्रभावित भएको छ। तर अहिले आयोजनाको पुनर्निर्माणभन्दा सुरुङभित्र सम्पर्कविहीन रहेका कर्मचारी तथा मजदुरको खोजी र उद्धार नै प्रमुख चुनौती बनेको छ।









