
प्रधानमन्त्री वालेन्द्र शाह।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, “उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको छ।”
उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरण सक्रिय भइसकेको छ। मेडिकल टिम, स्काउट र रेडक्रससँग समन्वय गरी आवश्यक कदम चाल्न काम सुरू भएको उनले बताएका छन्। अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढिसकेको उनले लेखेका छन्।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताएका छन्। एसएमएस र कलमार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको उनको भनाइ छ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको र निजी हेलिकप्टर कम्पनीलाई पनि हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको उनले बताएका छन्। केही हेलिकप्टर प्रभावित क्षेत्रतर्फ गइसकेको उनले लेखेका छन्।
आगामी आवश्यक कदम चाल्न केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको उनले जानकारी दिएका छन्।
“सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरूसँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला,” उनले लेखेका छन्।
उनले थप जानकारी तथा राहतका लागि १२३४ / १०० / ११११ नम्बरमा सम्पर्क गर्न सकिने बताएका छन्।









