
काठमाडौं। ६० मेगावाट क्षमताको जलाशययुक्त कुलेखानी-१ जलविद्युत् आयोजना नियमित मर्मत सम्भारका लागि बन्द गरिएको छ।
आयोजनाका अनुसार टर्बाइन, जेनेरेटरलगायत उपकरणको नियमित परीक्षण तथा आवश्यक मर्मतका लागि आयोजनाको विद्युत् उत्पादन स्थगन गरिएको हो।
आयोजनालाई नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ। त्यसैले तालिकाअनुसार नै कुलेखानी-१ लाई बन्द गरेर जेनेरेसनतर्फ मर्मत गर्न लागिएको हो।
प्रणालीलाई चुस्त राख्न वर्षमा निश्चित समय जलाशय तथा पावरहाउसका उपकरणको मर्मत सम्भार गर्नुपर्ने हुन्छ। कुलेखानी-१ लाई मुख्यगरी विद्युत् माग बढी हुने समयमा सञ्चालन गरिँदै आएको छ।
विद्युत् माग बढी हुने बिहान र साँझको समयमा नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीलाई सन्तुलनमा राख्न कुलेखानी-१, कुलेखानी-२ र कुलेखानी-३ क्यासकेड आयोजना सञ्चालन हुँदै आएका छन्। कुलेखानी-२ र कुलेखानी-३ भने अहिले आवश्यकताअनुसार सञ्चालनमा रहेका छन्।
आयोजनाको मर्मत सम्भारको काम एक हप्ताभित्र सम्पन्न हुनेछ। कुलेखानी जलाशयमा वर्षायाममा पानीको पर्याप्त सञ्चिति हुने भएकाले विद्युत् माग बढी हुने समयमा जलाशयको पानी प्रयोग गरी उत्पादन बढाउन सकिन्छ।









