
काठमाडौं। लामो समयदेखि छपाइ हुन बाँकी रहेका सबै २७ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने कार्य सम्पन्न भएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराइने व्यवस्था गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १५ लाख गरी कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। यससँगै वर्षौँदेखि कायम रहेको लाइसेन्स छपाइको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयको दाबी छ।
हाल ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको दैनिक तीन हजारदेखि पाँच हजार विवरण विभागबाट प्राप्त हुनेबित्तिकै सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको जनाएको छ।
मन्त्रालयका अनुसार अब सातै प्रदेश सरकारसँग समन्वय गरेर स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता गर्ने तयारी पनि भइरहेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष पहल र निरन्तर समन्वयका कारण वर्षौँदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। मन्त्री तिमिल्सिनाले नागरिकले समयमै सेवा पाउने व्यवस्था सुनिश्चित गर्न स्मार्ट लाइसेन्सको ब्याकलग अन्त्यलाई प्राथमिकतामा राखेका थिए।
सुरक्षण मुद्रण केन्द्रले आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र जग्गाधनी प्रमाणपत्र लगायतका सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी गरिरहेको जनाएको छ।




