
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले समयमै इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको निर्माण व्यवसाय इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सार्वजनिक गरेको सूचनाअनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो। तोकिएको अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा (३) बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज गरिएको हो।
यससम्बन्धी सूचना मन्त्रालयको सचिवस्तरबाट असार १७ गते भएको निर्णयअनुसार निर्माण व्यवसाय ऐनको दफा ७ को उपदफा (४) बमोजिम प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।
