
काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति झ्याप झ्याप बत्ती जान थालेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।
मन्त्रालयका सहसचिव सन्दीप देवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
समितिलाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, सुधारका उपाय कार्यान्वयन तथा उपभोक्ताले भोगिरहेका समस्याको प्रभावकारी रूपमा सम्बोधन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। मंगलबार समितिको बैठक ऊर्जा मन्त्रालयमा बसेको थियो ।
लोडसेडिङको झल्को दिने गरी झ्याप झ्याप बत्ती जान थाल्यो, तराईमा रातभरी निदाउनै गाह्रो
ऊर्जा मन्त्रीको सचिवालयका अनुसार ऊर्जा मन्त्रीले विद्युत् आपूर्तिसम्बन्धी जनगुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आपूर्ति व्यवस्थापनमा लापरवाही वा कमजोरी देखिए आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन पनि मन्त्रीले निर्देशन दिएका छन्।
मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, नियमित र गुणस्तरीय बनाउँदै उपभोक्ताको विश्वास कायम गर्न आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।


