Nepal Purbadhar

मन्त्री यादव र चिनियाँ उपमन्त्री दोङबीच भेट, व्यापार र लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सहमति


काठमाडौं। नेपाल र चीनले द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक साझेदारीलाई थप सुदृढ र परिणाममुखी बनाउने सहमति गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका वाणिज्य उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा व्यापार, लगानी र आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री यादवले नेपाल–चीनबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक तथा व्यापारिक क्षेत्रमा थप प्रभावकारी र दिगो बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताइन्। उनले व्यापार, लगानी, औद्योगिक विकास, सीमापार पूर्वाधार, यातायात सञ्जाल तथा आपूर्ति शृङ्खला सुदृढीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नीतिगत सुधार भइरहेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी थप वृद्धि हुने विश्वास व्यक्त गरिन्।

चिनियाँ उपमन्त्री दोङले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको बताए। उनले दुवै देशबीच विद्यमान सरकारी संयन्त्रमार्फत नियमित संवाद र बैठकलाई निरन्तरता दिइने जानकारी दिए।

उनले तातोपानी र रसुवा नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको उल्लेख गर्दै नेपाली व्यवसायीलाई चीनमा आयोजना हुने विभिन्न व्यापार मेला र एक्स्पोमा सहभागी गराउन आवश्यक सहजीकरण गरिने बताए।

उपमन्त्री दोङले नेपालका सम्भावित निर्यातयोग्य वस्तु, विशेषगरी चिया, जडीबुटी तथा अन्य कृषि उत्पादनको सम्भावनाबारे संयुक्त अध्ययन गर्न सकिने धारणा पनि राखे। साथै, सन् १९७८ पछि चीनले अवलम्बन गरेको खुला आर्थिक नीति, वैदेशिक लगानी प्रवर्द्धन, कर सहुलियत, प्रशासनिक सहजीकरण तथा व्यावसायिक वातावरण सुधारका अनुभव नेपालका लागि पनि उपयोगी हुन सक्ने बताए।

उनले चीन नेपालको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) का प्रमुख स्रोत मुलुकमध्ये एक रहेको उल्लेख गर्दै एकद्वार सेवा प्रणालीमार्फत लगानी प्रक्रिया थप सहज, पारदर्शी र लगानीमैत्री बनाउन सके नेपालमा चिनियाँ लगानी अझ विस्तार हुने विश्वास व्यक्त गरे।

भेटवार्तामा दुवै पक्षले नेपाल–चीनबीचको आर्थिक साझेदारी, व्यापारिक सम्बन्ध र आपसी हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी तथा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यको पनि उपस्थिति रहेको थियो।


Read Previous

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ

Read Next

ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, प्रसारण र वितरण प्रणाली विस्तार उच्च प्राथमिकतामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar