Nepal Purbadhar

आर्थिक मन्दीले थलिएको भन्दै साना उद्योगले मागे सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण


ललितपुर। आर्थिक मन्दी, लगानी संकुचन र सुस्ताएको बजारका कारण लघु, घरेलु तथा साना उद्योग संकटमा परेको भन्दै उद्योगीहरूले सहुलियतपूर्ण नीति, सरकारी संरक्षण र नीतिगत स्थिरताको माग गरेका छन्। उनीहरूले उद्योग क्षेत्रलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको आइतबार ललितपुरमा उद्घाटन गर्दै वक्ताहरूले तीन तहका सरकारबीच समन्वय अभाव, पुराना कानुन र नीतिगत अस्थिरताले घरेलु तथा साना उद्योग क्षेत्र अपेक्षित रूपमा अघि बढ्न नसकेको धारणा राखे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगको विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार भएको बताए। उनले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर बजार विस्तार गर्नुपर्नेमा जोड दिँदै कर्णालीका राडीपाखी, अल्लोलगायत स्थानीय उत्पादनको प्रभावकारी ब्रान्डिङ र बजारीकरण आवश्यक रहेको उल्लेख गरे।

सचिव निरौलाले सरकारी निकायमा हुने बारम्बारको कर्मचारी सरुवाले नीतिगत निरन्तरतामा असर परेको भन्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले संविधानअनुकूल कानुन परिमार्जन, उद्योगमैत्री नीति निर्माण, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिए।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक मन्दीका कारण उद्योग व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै उद्योग क्षेत्रलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य थप सुदृढ बनाउनुपर्ने बताए। उनले लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, रुग्ण उद्योगको पुनरुत्थान तथा उद्योगमैत्री नीति निर्माणका लागि महासंघले निरन्तर सरकारसँग पहल गर्दै आएको जानकारी दिए।

उनका अनुसार हाल देशभर सञ्चालनमा रहेका लघु तथा साना उद्योगहरूले ३२ लाखदेखि ४० लाखसम्म मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन्। महासंघ २०४७ सालदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलता विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धिमा सक्रिय रहेको उनले बताए।

अध्यक्ष सिंहका अनुसार महासंघको संगठन सातै प्रदेश, ७७ वटै जिल्ला र ३०० भन्दा बढी स्थानीय तहमा विस्तार भइसकेको छ। केन्द्रीय महिला उद्यमी समितिअन्तर्गत सातै प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकामा महिला उद्यमी समितिहरू सक्रिय छन्।

दुईदिने महाधिवेशनमा देशभरका जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघ र केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन, बजार पहुँच विस्तार तथा संस्थाको भावी कार्यदिशासम्बन्धी नीतिगत निर्णय गर्ने जनाएको छ।

उद्घाटन समारोहमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डे, महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी तथा महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले पनि उद्योग क्षेत्रका चुनौती र समाधानका विषयमा धारणा राखेका थिए।


Read Previous

१८ वर्षपछि धारापानी–झिनडाँडा सडकको स्तरोन्नति, ढोरपाटन जोड्ने वैकल्पिक मार्ग सहज हुने

Read Next

डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar