
म्याग्दी। म्याग्दीको रणनीतिक महत्वको दरबाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ को धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्डको स्तरोन्नति सम्पन्न भएको छ। सडक स्तरोन्नतिसँगै यस क्षेत्रका स्थानीयवासीको आवागमन सहज हुनुका साथै मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा रहेको सडकको क्षमता पनि थप सुदृढ भएको छ।
गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित योजनाअन्तर्गत धारापानीदेखि झिनडाँडासम्मको ६ किलोमिटर सडकमा ढलान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार अन्तिम भुक्तानी र सामान्य मर्मतबाहेक निर्माणका सबै काम सम्पन्न भइसकेका छन्। योजना निर्धारित समयमै सम्पन्न भएको उनले बताए।
१४ करोडभन्दा बढी लागतमा सडक स्तरोन्नति
विसं २०८१ जेठ २० गते रामसागर विके–एसकेबिएस धौलागिरि जेभीसँग रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरिएको थियो। निर्माणका क्रममा गौथली भिरलगायत जोखिमयुक्त क्षेत्रमा करिब एक हजार ७०० मिटर सडक ढलान गरिएको छ।
सडकलाई आठ मिटर चौडा बनाइनुका साथै नाली र टेवा पर्खाल निर्माण गरिएको छ। यसअघि सडकको चौडाइ चारदेखि पाँच मिटर मात्र थियो।
बाँकी खण्ड कालोपत्र गर्न पहल
धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले हाल ग्राभेल रहेको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न प्रदेश सरकारसँग पहल भइरहेको बताए।
उनका अनुसार सडक खुलेको १८ वर्षपछि स्तरोन्नतिको काम सम्पन्न हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि हो। बजेट अभावका कारण कालोपत्र हुन बाँकी रहेको खण्डलाई पनि आगामी चरणमा स्तरोन्नति गर्ने प्रयास भइरहेको उनले बताए।
रणनीतिक महत्वको सडक
धारापानीमा २०६६ सालमै सडक पुगेको थियो। यो मार्ग धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको मुख्य आवागमनको सडक हो।
यसै योजनाअन्तर्गत दरबाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारको ठेक्का सम्झौता भई निर्माण कार्य जारी रहेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए। २०८२ असारमा सम्झौता भएको उक्त योजनाको निर्माण अवधि २७ महिना तोकिएको छ।
उनका अनुसार म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दाले पोखरा-काठमाडौं आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोट्याउन सक्ने भएकाले यस सडकलाई रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको छ।
गत फागुनदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला, ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरासम्म सडक सञ्चालनमा आइसकेको छ। यसले पश्चिम नेपालका पहाडी जिल्लाबीचको यातायात सम्पर्क विस्तार र आर्थिक गतिविधिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
