Nepal Purbadhar

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त


काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ। विश्वविद्यालय स्रोतका अनुसार यी नियुक्तिले सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्ति व्यवस्थापनमा केन्द्रित बनाउने अपेक्षा गरिएको छ।

शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।

सिफारिस समितिले गत जेठमा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्याङ्कनपछि योग्य उम्मेदवारको नाम सिफारिस गरिएको विश्वविद्यालयले जनाएको छ।

आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनले शहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा काम गरेका थिए।

थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष-२०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिमा विज्ञ सदस्यका रूपमा योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्। आवास, शहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उनको लामो अनुभव रहेको छ।


Read Previous

नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त पुल डिजाइनसम्बन्धी तीनदिने सीपीडी तालिम सम्पन्न

Read Next

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar