Nepal Purbadhar

नारायणगढ-मुग्लिन सडकमा पहिरो व्यवस्थापनका लागि उपकरण र जनशक्ति तयारी अवस्थामा

फाईल तस्बीर।


चितवन। वर्षायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा हुन सक्ने पहिरो व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय भरतपुरले आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको छ।

कार्यालयका अनुसार आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ-मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी गरिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेले वर्षात्का बेला पहिरो खस्ने सम्भावना बढी हुने स्थानमा तत्काल सडक खुलाउन उपकरण अपरेटरसहित आवश्यक मेसिन तयारी अवस्थामा राखिएको जानकारी दिए।

उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहो लोडर तयारी अवस्थामा राखिएको छ। त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहो लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर पनि परिचालनका लागि तयारी अवस्थामा छन्।

सडक अवरुद्ध हुनेबित्तिकै पहिरो हटाएर सवारी आवागमन यथाशीघ्र सुचारु गर्ने उद्देश्यले उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको इन्जिनियर लामिछानेले बताए।

नारायणगढ-मुग्लिन सडक वर्षायाममा लेदोसहितको पहिरो तथा हिउँदमा सुक्खा पहिरोका कारण पटक-पटक अवरुद्ध हुने गरेको छ। काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गमध्ये एक मानिने यस सडकखण्डबाट दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।


Read Previous

बुटवलमा फोटोन मोटर्स नेपालको नयाँ शोरुम सञ्चालनमा

Read Next

अध्यक्षमा ऊर्जासचिव दवाडी एचआईडीसीएलको अध्यक्ष बनिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar