Nepal Purbadhar

कालो सिसा हटाउने बिषयमा नाडाको चासो, ‘पहिले हटाउने अभियान चलाउ, पछि कार्वाही’


काठमाडौं। सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियान, यसको कानुनी आधार तथा कार्यान्वयनका विषयमा छलफल गरेको हो।

छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अत्यधिक कालो सिसा भएका सवारी साधनको प्रयोग उपयुक्त नदेखिएको र यस्ता सवारी साधन विभिन्न आपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेको पाइएको बताए। त्यसैले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थाअनुसार सवारी साधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा अन्य कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी साधन आयातकर्ताहरूले नयाँ सवारी खरिद गर्ने ग्राहकलाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने आवश्यकता औंल्याए।

एसएसपी काफ्लेले सरकारले विशेष अनुमति दिएको बाहेक अन्य सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाइने स्पष्ट पार्दै विदेशबाट सवारी आयात गर्दा पनि उत्पादक कम्पनीबाट नै कालो सिसा जडान गरिएका सवारी नेपाल नल्याउन आयातकर्ताहरूलाई आग्रह गरे।

छलफलमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अधिकांश सवारी साधनमा कालो फिल्म (स्टिकर) प्रयोग गरिएको र त्यसलाई हटाउन प्राविधिक रूपमा कुनै जटिलता नरहेको बताए। उनले पहिलो चरणमा कालो फिल्म हटाउने अभियान सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

त्यसैगरी, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नरहेको उल्लेख गर्दै त्यस्ता सवारीको तथ्याङ्क यकिन गरी आवश्यक प्रक्रिया अपनाएर समाधान गर्न सकिने धारणा राखे।

कालो सिसा हटाउने विषयमा छलफलका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई औपचारिक रूपमा लिखित अनुरोध गरेको थियो। छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिलगायत दुवै पक्षका पदाधिकारीको सहभागिता रहेको थियो।

ट्राफिक प्रहरीले सवारी साधनमा कालो सिसा र अनधिकृत स्टिकर प्रयोग नियन्त्रण गरी सडक सुरक्षा अभिवृद्धि, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ अभियानलाई अघि बढाएको जनाएको छ। यस विषयमा नाडाले पनि कानुनी व्यवस्थाअनुसार आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।


Read Previous

उद्योग दर्ताको विवरण अब मन्त्रालयमा लाईभ, जोडियो रियल टाइम ड्यासबोर्ड

Read Next

लोडसेडिङलाई झल्को दिने गरी झ्याप झ्याप बत्ती जान थाल्यो, तराईमा रातभरी निदाउनै गाह्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar