Nepal Purbadhar

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा जडान गरिएका कालो सिसाविरुद्ध अभियान सुरु गर्दै पहिलो चरणमै गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीबाट कालो सिसा हटाएको छ।

सोमबार गृहमन्त्री गुरुङ स्वयं ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सरकारी सवारीको कालो सिसा हटाउन निर्देशन दिएपछि प्रहरीले गृहमन्त्री र गृहसचिव दुवैको सवारीमा जडान गरिएको कालो सिसा हटाएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार कालो सिसाको प्रयोग नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिएको छ। उनका अनुसार कानुनविपरीत जडान गरिएका कालो सिसाले विभिन्न आपराधिक गतिविधिलाई सहज बनाएको देखिएकाले अभियानलाई कडाइका साथ अघि बढाइएको हो।

प्रहरीका अनुसार कालो सिसा भएका निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग लागुऔषध ओसारपसार तथा सेवन, साना हतियारको अवैध ढुवानी, सुन तस्करीलगायतका घटनामा भएको पाइएको छ। साथै अपराधमा संलग्न व्यक्तिहरू फरार हुन पनि यस्ता सवारीको प्रयोग हुने गरेको प्रहरीको दाबी छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले अधिकारप्राप्त निकायको स्वीकृतिबिना सवारीको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिसलगायतका संरचनात्मक परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ। यही कानुनी व्यवस्थाका आधारमा ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।


Read Previous

चीनद्वारा थप २० जापानी संस्था कालोसूचीमा, रक्षा क्षेत्रसँग जोडिएका कम्पनीमाथि निर्यात प्रतिबन्ध

Read Next

पासपोर्टमा भ्रष्टाचार प्रकरण : विशेष अदालतबाट पाँच आरोपित धरौटीमा रिहा, दुई साधारण तारेखमा छुटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar