Nepal Purbadhar

सांसदलाई सभामुखको आग्रह : ‘अनुशासनमा बस्ने गर्नुहोस्, सभा चलिरहँदा मोबाईल नचलाईदिनुस्’


काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदहरूलाई समयपालन, अनुशासन, अध्ययनशीलता र जिम्मेवार व्यवहारमा उदाहरणीय बन्न आग्रह गरेका छन्।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरूको हरेक गतिविधिलाई जनताले मात्र नभई अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट नियालिरहेको बताए।

उनले अभिमुखीकरण कार्यक्रम सिकाउने–सिक्नेभन्दा पनि अनुभव आदानप्रदान गर्ने साझा मञ्च भएको उल्लेख गर्दै प्रतिनिधि सभाले देशका लागि आवश्यक कानुन निर्माण, विद्यमान कानुन संशोधन तथा संविधान कार्यान्वयनका महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

सभामुख अर्यालले प्रविधिको तीव्र विकाससँगै बदलिँदो विश्वअनुसार सांसदहरूले आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सांसदहरूको व्यवहार, बोली, पहिरन, प्रस्तुति र सार्वजनिक गतिविधिले संसद्को छवि निर्माण गर्ने भएकाले प्रत्येक सदस्यले आत्मसमीक्षा गर्दै आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

“हामीले बनाउने कानुन देशका सम्पूर्ण नागरिकका लागि हो। त्यसैले हाम्रा काम र निर्णयप्रति हामी सबै बराबरी रूपमा जिम्मेवार छौँ,” उनले भने।

सभामुख अर्यालले अहिलेका सांसदहरूको अध्ययन, संसदीय अभ्यास र आधुनिक प्रविधिको प्रयोगलाई नेपाली नागरिकसँगै विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरिरहेको उल्लेख गरे।

उपस्थितिप्रति असन्तुष्टि

कार्यक्रममा अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नभएकोप्रति पनि सभामुखले असन्तुष्टि जनाए। सूचना धेरैअघि नै सार्वजनिक गरिएको भए पनि सबै सदस्य समयमै उपस्थित नभएको भन्दै उनले जनप्रतिनिधिका रूपमा समयपालन र अनुशासनमा विशेष ध्यान दिन आग्रह गरे।

“आजको उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन,” उनले भने, “हामी लाखौँ जनताको मतबाट निर्वाचित प्रतिनिधि हौँ। हाम्रो समयपालन, अनुशासन र व्यवहारलाई जनताले निरन्तर मूल्याङ्कन गरिरहेका हुन्छन्।”

उनले सांसदहरूले एकअर्कासँग सकारात्मक प्रतिस्पर्धा गर्दै कानुन निर्माण, संसदीय प्रस्तुतिकरण र जनप्रतिनिधिका रूपमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

खुला छलफल गर्न आग्रह

सभामुख अर्यालले कार्यक्रममा सहभागी सांसदहरूलाई खुलेर आफ्ना अनुभव, जिज्ञासा र सुझाव राख्न आग्रह गरे। मीठा कुरा मात्र गर्ने प्रवृत्तिभन्दा सत्य र रचनात्मक आलोचनाले संसदीय अभ्यासलाई थप बलियो बनाउने उनको भनाइ थियो।

कार्यक्रममा मोबाइल फोनमा अनावश्यक समय नबिताई पूर्ण ध्यानका साथ सहभागी हुन आग्रह गर्दै उनले दुईदिने अभिमुखीकरणबाट प्राप्त ज्ञान आगामी प्रतिनिधि सभा बैठकहरूमा व्यवहारिक रूपमा देखिनुपर्ने अपेक्षा व्यक्त गरे।

सभामुख अर्यालले यस कार्यक्रमबाट सांसदहरूको कार्यसम्पादनमा सकारात्मक परिवर्तन आउनुका साथै त्यसको अनुभूति संसद् सचिवालय, सभामुख र सबैभन्दा बढी मतदाताले गर्न पाउने विश्वास व्यक्त गरे।


Read Previous

रुप फेरिँदै नयाँ बसपार्क, ८०० सवारी क्षमता, दैनिक १० हजार बढी यात्रु, आर्थिक केन्द्र बन्दै गोँगबु

Read Next

लेखापरीक्षणलाई थप पारदर्शी, गुणस्तरीय र प्रविधिमैत्री बनाउँछौँ : महालेखापरीक्षक राया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar