Nepal Purbadhar

६ अर्ब लागत अनुमान गरिएको जालपादेवी केबलकार, बन्न सक्छ समृद्ध सुदूरपश्चिमको नयाँ आधार


कैलाली। वर्षौँदेखि प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि अपेक्षित पर्यटन पूर्वाधारको अभाव झेल्दै आएको सुदूरपश्चिम अब नयाँ सम्भावनातर्फ अघि बढिरहेको छ। कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले यस क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

आइएमई समूहको मुख्य लगानीमा करिब छ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा तीन दशमलव एक किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्गलगायत विभिन्न पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्। परियोजनाको पहिलो चरण आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

परियोजनाका इन्जिनियर विजय पौडेलका अनुसार हाल पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया सुरु हुनेछ। टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काइवाक र वाकिङ ट्रेल निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हल तथा अन्य सुविधायुक्त संरचना बनाइँदैछ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँरले यति ठूलो निजी लगानीको पर्यटन आयोजना प्रदेशका लागि ऐतिहासिक अवसर भएको बताए। उनका अनुसार केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार तथा सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउनेछन्। टीकापुर, लम्कीलगायत क्षेत्रका उद्योगी–व्यवसायीले पनि यस आयोजनाले सुदूरपश्चिममा थप निजी लगानी आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्।

चिसापानी क्षेत्रमा अहिले दैनिक पाँचदेखि सात सयसम्म आन्तरिक पर्यटक पुग्ने गरे पनि पर्याप्त पर्यटकीय पूर्वाधार नहुँदा अधिकांश केही घण्टामै फर्किने गरेका छन्। केबलकार सञ्चालनमा आएपछि पर्यटकको बसाइ लम्बिने, स्थानीय व्यवसाय विस्तार हुने र आर्थिक गतिविधि बढ्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

व्यवसायीहरूले केबलकारसँगै कर्णाली नदीमा जलपर्यटन, बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, धार्मिक पर्यटन तथा साहसिक पर्यटनलाई एउटै प्याकेजमा विकास गर्न सके सुदूरपश्चिमलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्य बनाउन सकिने बताएका छन्।

परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने अपेक्षा पनि गरिएको छ। होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात तथा सेवा क्षेत्र विस्तारसँगै हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। यसबाट स्थानीय कृषि उत्पादन, हस्तकला, होमस्टे तथा साना उद्यमलाई समेत नयाँ बजार प्राप्त हुने जनाइएको छ।

भारतसँगको खुला सीमा र सहज सडक पहुँचका कारण यो परियोजनाले भारतीय पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना देखिएको छ। उत्तराखण्ड, उत्तरप्रदेश, दिल्ली, लखनऊ, बरेली, देहरादुनलगायत क्षेत्रबाट सडकमार्ग हुँदै सहज रूपमा चिसापानी पुग्न सकिने भएकाले सीमावर्ती भारतीय पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले परियोजनालाई केवल पर्यटन पूर्वाधार नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा लिइएको बताए। उनका अनुसार पर्यटन पूर्वाधार विस्तारले पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र समग्र सुदूरपश्चिमको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

लामो समयदेखि सम्भावनामै सीमित रहेको कर्णाली किनारको प्राकृतिक सौन्दर्यलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढेको जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन, रोजगारी र समृद्धिको नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरिएको छ।


Read Previous

रास्वपा महाधिवेशनः स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता र शिशिर शीर्ष तीनमा

Read Next

एआईका कारण मेमोरी चिप महँगिएपछि एप्पलले म्याकबुक र आइप्याडको मूल्य बढायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar