Nepal Purbadhar

स्क्याफ नेपालद्वारा आयोजित नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त पहिलो सीपीडी तालिम सम्पन्न


काठमाडौं। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (एससीएईएफ) नेपालले आयोजना गरेको नेपाल इन्जिनियरिङ परिषद् (एनईसी) बाट मान्यता प्राप्त पहिलो कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (सीबीडीआईसी) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को सहकार्यमा आयोजित “एफआईडीआईसी रेड बुक २०१७ अन्तर्गत ठेक्का व्यवस्थापन” विषयक तीनदिने तालिम असार ८ देखि १० गतेसम्म सञ्चालन गरिएको थियो। तालिम बुधबार काठमाडौंको होटल क्रिस्टल पशुपति, गौशालामा औपचारिक रूपमा समापन गरिएको हो।
एससीएईएफ नेपालका अध्यक्ष ठाकुरप्रसाद शर्माको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाही र नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त विशेष अतिथिका रूपमा सहभागी थिए।
एससीएईएफ नेपालका अनुसार एनईसीबाट मान्यता प्राप्त सीपीडी तालिममा सहभागी इन्जिनियरहरूले सीपीडी आवर प्राप्त गर्न सक्नेछन्। यसले व्यावसायिक दक्षता अभिवृद्धि, दर्ता तथा इजाजतपत्र नवीकरणका आवश्यक प्रक्रिया पूरा गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्जिनियरिङ मापदण्डबारे अद्यावधिक रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिममा सरकारी निकायका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, परियोजना व्यवस्थापक तथा खरिद एवं करार प्रशासनसँग सम्बन्धित पेशाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एफआईडीआईसी रेड बुक २०१७ अन्तर्गत जोखिम व्यवस्थापन, समय विस्तार, भुक्तानी, मूल्य समायोजन, दाबी व्यवस्थापन, बिमा तथा विवाद निराकरणलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
एससीएईएफ नेपालले यस्ता क्षमता विकास कार्यक्रममार्फत परामर्श, निर्माण क्षेत्र र सम्बन्धित सरोकारवालाको व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने जनाएको छ।


Read Previous

बिजुलीको जिल्ला लमजुङमा बर्खायाम शुरू भएसँगै विद्युत् उत्पादन बढ्यो

Read Next

कास्कीका ५ स्थानीय तहको बजेट नौ अर्ब ७२ करोड, कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar