Nepal Purbadhar

होर्मुज जलमार्ग बन्द हुँदा १ हजार २०० भन्दा बढी मालवाहक जहाज अलपत्र


काठमाडौं । स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द भएपछि १,२०० भन्दा बढी मालवाहक जहाज करिब १२५ अर्ब अमेरिकी डलर बराबरको सामानसहित समुद्रमा अलपत्र परेको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ।

बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, जलमार्ग अवरुद्ध हुँदा विश्व व्यापार र समुद्री ढुवानीमा ठूलो असर परेको छ। एलियान्जका समुद्री विभाग प्रमुख जस्टस हेनरिकले महत्वपूर्ण जलमार्ग बन्द हुँदा बीमा कम्पनीहरूको जोखिम मूल्याङ्कन र दायित्व व्यवस्थापनमा समेत परिवर्तन आएको बताएका छन्।

अमेरिका र इरानबीच सम्झौता भएपछि स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको र त्यसपछि समुद्री ढुवानी क्रमशः सहज बन्दै गएको जनाइएको छ। आधिकारिक तथ्याङ्कअनुसार पछिल्लो हप्तामा ६९ वटा जहाज खाडी क्षेत्रबाट बाहिरिएका छन्, जबकि त्यसअघिको हप्तामा यो संख्या २४ मात्रै थियो। फेब्रुअरीमा द्वन्द्व सुरु भएयता यो सबैभन्दा उच्च साप्ताहिक ढुवानी गतिविधि भएको बताइएको छ।

द्वन्द्वका कारण मानवीय र आर्थिक दुवै क्षेत्रमा गम्भीर असर परेको छ। लामो समय समुद्रमा रोकिँदा चालक दलका सदस्यहरू मानसिक तथा व्यावसायिक दबाबमा परेका छन्। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार द्वन्द्वका क्रममा १४ जना नाविकको मृत्यु भएको छ भने ४० भन्दा बढी जहाज क्षेप्यास्त्र आक्रमणको निशानामा परेका छन्।

विश्लेषकहरूका अनुसार होर्मुज जलमार्ग विश्व ऊर्जा तथा व्यापार आपूर्तिको प्रमुख मार्ग भएकाले यस क्षेत्रमा उत्पन्न अस्थिरताले अन्तर्राष्ट्रिय बजार, ढुवानी लागत र आपूर्ति शृंखलामा व्यापक प्रभाव पार्ने जोखिम रहेको छ।


Read Previous

५ अर्बभन्दा बढी रकम दाबी सहित ५ हजार बचतकर्ताले रकम फिर्ताका लागि दिए आवेदन

Read Next

शिक्षामन्त्री सस्मित पोखरेलको रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar