
नेपालगञ्ज, जनकपुर, विराटनगर, भैरहवा र धनगढीलगायत क्षेत्रमा अत्यधिक गर्मी महसुस गरिएको छ। तस्बीर : नेपाल फोटो लाइब्रेरी
नेपालगन्ज। अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले असार १० गतेदेखि १२ गतेसम्म तीन दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि पनि बढ्दो तापक्रमका कारण विद्यालयमा पठनपाठन स्थगित गरिएको थियो।
गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरको शिक्षा महाशाखाका अनुसार जल तथा मौसम विज्ञान विभागको सुझावका आधारमा विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि अस्थायी रूपमा रोकिएको हो। हालको गर्मीका कारण धेरै विद्यार्थीमा बेहोस हुने, टाउको दुख्ने तथा अन्य स्वास्थ्य समस्या देखिन थालेपछि यस्तो निर्णय लिनुपरेको जनाइएको छ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र ८२ संस्थागत, ४२ सामुदायिक र ३९ धार्मिक विद्यालय गरी कुल १६३ विद्यालय सञ्चालनमा छन्।
जल तथा मौसम विज्ञान कार्यालय का अनुसार मंगलबार नेपालगन्जको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। कार्यालयले नेपालगन्जमा ४० डिग्री सेल्सियस र खजुरा मा ३९.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको जनाएको छ।

