
काठमाडौं। नेपालको बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सुरुङमार्गभित्रका अधिकांश निर्माण तथा प्राविधिक काम सम्पन्न भइसकेका छन् भने हाल सुरक्षा परीक्षण, उद्धार अभ्यास र सञ्चालन व्यवस्थापनसम्बन्धी तयारी भइरहेको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गभित्र आकस्मिक घटना व्यवस्थापन, उद्धार तथा सवारी सञ्चालनसम्बन्धी परीक्षण भइरहेको छ। बाहिरी क्षेत्रमा पहिरो नियन्त्रणका केही काम बाँकी रहे पनि साउनभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

कुल दुई हजार ६८८ मिटर लामो यो सुरुङमार्ग मूल सम्झौताअनुसार सन् २०२३ अप्रिलभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण निर्माण कार्य लम्बिएको थियो। हाल सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको अभ्यास भइरहेको आयोजनाले जनाएको छ।
सुरुङमार्ग प्रयोगबापतको टोल संकलनका लागि बैंक छनोट तथा कार्ड छपाइको प्रक्रिया अघि बढिसकेको छ। चालकले नगद, क्यूआर कोड स्क्यान वा सवारीमा जडान गरिने स्टिकरमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।
सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी युसिन एआरटी कम्पनीले पाँच वर्षका लागि करिब रु १ अर्ब १० करोड लागतमा पाएको छ। सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन हुनेछ र व्यवस्थापनका लागि करिब १५० जना जनशक्ति परिचालन गरिनेछ।
हाल नागढुङ्गा–नौबिसे नाकाबाट दैनिक औसत आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

सरकारले २०८२ चैत २६ गते राजपत्रमार्फत सुरुङमार्ग प्रयोग शुल्क निर्धारण गरेको थियो। त्यसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ।
मिनीबस तथा मिनी ट्रकले काठमाडौँ प्रवेश गर्दा रु १२५ र बाहिरिँदा रु ८० तिर्नुपर्नेछ। बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क रु २६० र बाहिरिने शुल्क रु २०० तोकिएको छ।
त्यस्तै, मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० शुल्क लाग्ने व्यवस्था गरिएको छ।
