
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अग्रणी कम्पनी ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन (आईपीओ) तयारी थालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ।
कम्पनीले हालसम्म सार्वजनिक रूपमा सेयर बिक्री गर्ने निश्चित मिति वा निर्णय भने नभएको स्पष्ट पारेको छ। तर प्रारम्भिक दर्ता प्रक्रिया शुरू भएसँगै आवश्यकता अनुसार भविष्यमा छिट्टै सेयर बजारमा प्रवेश गर्ने आधार तयार भएको विश्लेषण गरिएको छ।
ओपनएआईले जारी गरेको विज्ञप्तिमा उक्त प्रक्रिया अमेरिकी धितोपत्र कानुनअनुसार अघि बढाइएको र यसलाई सेयर बिक्रीको प्रस्ताव वा लगानीकर्तालाई खरिदका लागि गरिएको आह्वानका रूपमा नबुझ्न आग्रह गरिएको छ। कम्पनीका अनुसार यदि भविष्यमा सार्वजनिक निष्कासन गर्ने निर्णय गरिएमा त्यसका लागि औपचारिक दर्ता प्रक्रिया पूरा गरिनेछ।
कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र विशाल पूर्वाधार लगानीको आवश्यकता बीच ओपनएआईको यो कदमलाई रणनीतिक तयारीका रूपमा हेरिएको छ। अत्याधुनिक एआई मोडेल विकास, उच्च क्षमताका कम्प्युटिङ प्रणाली निर्माण, विशाल डाटा केन्द्र विस्तार तथा नयाँ प्रविधि र उत्पादन विकासका लागि अरबौं डलर लगानी आवश्यक पर्ने भएकाले कम्पनीले दीर्घकालीन वित्तीय स्रोत सुनिश्चित गर्ने विकल्प खोजिरहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार सार्वजनिक कम्पनी बनेपछि ओपनएआईले विश्वभरका संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट ठूलो परिमाणमा पूँजी जुटाउन सक्नेछ। यसबाट कम्पनीलाई अनुसन्धान तथा विकास, एआई पूर्वाधार विस्तार र नयाँ पुस्ताका प्रविधि विकासमा थप लगानी गर्न सहज हुनेछ।
विश्वव्यापी रूपमा एआई प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेका बेला ओपनएआईको सम्भावित आईपीओलाई प्रविधि उद्योग र अन्तर्राष्ट्रिय वित्तीय बजारले चासोपूर्वक हेरिरहेका छन्। यदि कम्पनी सार्वजनिक बजारमा प्रवेश गर्छ भने यो हालसम्मकै सबैभन्दा चर्चित प्रविधि कम्पनीहरूको सेयर निष्कासनमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।
