
जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा भएको प्रदर्शनमा “काँग्रेस–कम्युनिष्टले ठगे”, “बालेन, नठग”, “स्वायत्तता दिने वाचा पूरा गर”, “स्थानीय सरकारलाई अधिकार दे” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
प्रदर्शनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संविधानले सुनिश्चित गरेको स्थानीय तहको अधिकार व्यवहारमा लागू हुनुपर्ने, स्थानीय सरकारलाई आवश्यक स्रोत–साधन तथा निर्णय गर्ने अधिकार दिनुपर्ने र जनतासँग गरिएका राजनीतिक प्रतिबद्धता पूरा हुनुपर्ने माग गरेका छन्।
उनीहरूले विभिन्न राजनीतिक दलहरूले चुनावका क्रममा गरेका वाचा कार्यान्वयन नगरेको आरोप लगाउँदै स्थानीय स्वायत्तता र जनउत्तरदायी शासन प्रणाली सुदृढ बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
माइतीघर मण्डलामा शान्तिपूर्ण रूपमा भएको प्रदर्शनमा सहभागीहरूले नाराबाजी गर्दै स्थानीय तहको अधिकार कटौती नगर्न र संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
जनमत पार्टीले आफ्ना मागप्रति सम्बन्धित निकायले बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ।
