
काठमाडौं। सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार हालसम्म ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्म मात्र ४३ हजार ७५० थान स्मार्ट चालक अनुमतिपत्र वितरण गरिएको सर्वेक्षणमा उल्लेख छ।
त्यस्तै, इम्बोस्ड नम्बर प्लेटतर्फ हालसम्म ८ लाख ३१ हजार ५९ थान उत्पादन गरिएको छ भने ८८ हजार ३४० थान मात्र जडान गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान उत्पादन र ५ हजार १८६ थान जडान भएको तथ्याङ्कमा देखाइएको छ।
इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकललगायतका दुई लाख ८१ हजार ९२१ सवारीसाधन दर्ता भएका छन्। हालसम्म कुल दर्ता संख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ, जसमा ५० लाखभन्दा बढी मोटरसाइकल रहेको सर्वेक्षणमा उल्लेख छ।








