Skip to main content

Nepal Purbadhar

नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रिया शुरू, दरखास्त आह्वान


काठमाडौं। सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया शुरू गरेको छ। विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो।

समितिले जेठ ११ गते स्वीकृत “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” अनुसार आवेदन माग गरेको जनाएको छ। इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्न कार्यविधि बनाएर पदाधिकारी छनोट गर्न लागिएको मन्त्रालयले जनाएको छ। नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ अनुसार कुलपतिबाट सिफारिस समिति गठन गरिएको हो।

कार्यविधिअनुसार उम्मेदवारको योग्यता, अनुसन्धानमूलक लेख, विश्वविद्यालयसम्बन्धी शोधपत्र, चार वर्षे रणनीतिक योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा मूल्याङ्कन गरिनेछ। उपकुलपति र शिक्षाध्यक्षका लागि १०० पूर्णाङ्कमा मूल्याङ्कन गरी क्रमशः तीन–तीन जना योग्य उम्मेदवार सिफारिस गरिने व्यवस्था गरिएको छ।

उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवका लागि सम्बन्धित ऐनका दफाअनुसार योग्यता निर्धारण गरिएको छ। उपकुलपति बन्न कम्तीमा विद्यावारिधि, १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र र राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

त्यस्तै कुलसचिवका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर उपाधि र १० वर्षको शैक्षिक वा प्रशासनिक अनुभव अनिवार्य गरिएको छ। उम्मेदवारले विश्वविद्यालयसम्बन्धी शोधपत्र र चार वर्षे रणनीतिक योजना समेत पेस गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।


Read Previous

काठमाडौं महानगरपालिकाको रोहवरमा बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्ताको रकम फिर्ता

Read Next

अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण २०८२–८३ संसदमा प्रस्तुत, अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar