Skip to main content

Nepal Purbadhar

दिगो पर्यटन प्रवर्द्धनका लागि पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार


काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत नेपालमा दिगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार आयोजित कार्यक्रममा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति आवश्यक रहेकोमा जोड दिइएको थियो ।

एसटीपीका राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले पर्यटन प्रवर्द्धनका लागि स्पष्ट रणनीति र समन्वित प्रचार आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमका उद्देश्यबारे जानकारी दिए ।

कार्यशालामा विश्वव्यापी परामर्शदाता संस्था बीडले तयार पारेको पाँचवर्षीय रणनीति तथा कार्ययोजना प्रस्तुत गरिएको थियो । बीडका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्यका अनुसार सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने यो रणनीतिले नेपाल पर्यटनलाई संख्यामा आधारित मोडेलबाट मूल्यमा आधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन् । योजना निर्माणका क्रममा १३५ जना सरोकारवालासँग परामर्श तथा ६ वटा लक्षित समूह छलफल गरिएको पनि जनाइएको छ ।

यस रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन विकासका आधारस्तम्भहरूको विश्लेषण गरेको छ । साथै नेपाललाई साहसिक पर्यटन मात्र नभई संस्कृति, अध्यात्म, स्वास्थ्य, प्रकृति तथा दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा सहभागीहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ सुदृढ गर्न, डिजिटल मार्केटिङ प्रभावकारी बनाउन, नयाँ गन्तव्यहरूको प्रवर्द्धन गर्न तथा सरकारी र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । दिगो तथा समुदायमा आधारित पर्यटन नीतिलाई प्राथमिकता दिनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले सीमावर्ती शहरहरूमा पर्यटन क्षेत्रमा ठूलो लगानी भए पनि समन्वित मार्केटिङ रणनीतिको अभाव रहेको बताए । उनले काठमाडौं बाहिरका शहरहरूलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मेला आयोजना गर्दै आएको जानकारी दिए ।

यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार पर्यटन भए पनि त्यसलाई अझै प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको बताए । उनका अनुसार संख्या मात्र होइन, मूल्यमा आधारित पर्यटन रणनीति आजको आवश्यकता हो ।

कार्यक्रममा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल पर्वतारोहण संघ, नाटा, होटल व्यवसायी संघ, इसिमोड, नारालगायत पर्यटन क्षेत्रका संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले कार्यशालाबाट प्राप्त सुझाव समेटेर रणनीतिलाई अन्तिम रूप दिइने जानकारी दिए । उनले यो रणनीतिले नेपाललाई दिगो पर्यटन गन्तव्यका रूपमा विश्व बजारमा अझ प्रभावकारी रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।


Read Previous

पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायमा ४ हजार ३४८ आवेदन, सबैभन्दा धेरै पर्यटन बोर्डमा

Read Next

रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar